~भुवन निस्तेज~
लुकेको क्यै कथा होला भिजेको त्यो सिरानीमा
अँझै सन्त्रास रातिको छ कि बाँकी बिहानीमा
पुरानो खत अँझै बल्झाई गो बर्सात साउनको
अँझै झिल्काहरू बाँकी रहेछन यो खरानीमा
भए सपनाहरू घायल रहर गो आज उपवनको
मुनसिब हैन है भन्छन् रहर ढल्नु जवानीमा
सबै पीडा सबै आँसु अनि घर जल्नुको झर्को
कुरा हुन यी सबै साँचा नदर्नु है कहानीमा
बिहानी भैसक्यो खै त उदा’को घाम परिलो
छ मौसम आज हाँसेको स्वयं कै बेइमानीमा
म यो खंजर कतै मिल्काई बस्छु फूल संगाली
नयाँ नेपालको चर्चा भयो रे राजधानीमा ।
निस्तेज धनगढ़ी,कैलाली
(स्रोत : साहित्य सभा)