~रेवतराम बरुवाल~
नयाँ वर्षको उपमा पाएर
अन्धकारको किल्ला नाघेर
पूर्व क्षतिबाट उदाएको नयाँ साल,
मंगलदिप बालेर
फूल अबीर पानी घडामा
धूप बास्ना देखेर
अटालीमा बसी परेवा धुर्न लाग्दा
यहि शुभ साईतको मौकामा
मेरो स्वाभिमानी साथीलाई
बाड्नु छ एउटा
विशेष उपहार
मातृभूमिमा गृहयुद्ध नसकिंदै
रक्त खोला नसुक्दै
विलौनाले देश भरिएको बेला
अन्धकारको विकल्प बनेर
फेरी आएको यस नयाँ सालमा
मेरो मित्रलाई के दिऊ म उपहार,
मेरो मित्र,
भावनाको धनी
त्यसैले मलाई थाह छ
उहाँ मबाट कुनै मूर्त बस्तु चाहिसिन्न
देखावटी वहालाई मनपर्दैन
तर फूल,
अवस्य मनपर्छ ।
ठीकै छ वहालाई दिने फूलमा
म एउटा अजम्बरी उपहार,
मिसाएर दिउँला जस्ले
खुशी, सफलता र दिर्घायूलाई समेटेको छ
यो यतिमात्र हैन
आफैमा विशिष्ट छ,
उत्तम अद्वितीय अमूर्त छ ।
हो,
यस्को अभावमा
तीते पातीहरु त फुल्लान
तर गुराँसले रंग नदेला
हुच्चिलको आवाज त आउला
तर परेवाहरु बन्धनमा हुन्छन्
पिंजडाभित्र ।
तर यता,
यस्को प्राप्तिले
बन्दीका साङ्गलाहरु खोलिन्छन्
भयको अनुहार मुस्कानले भर्दछ
सुरक्षाको प्रत्याभूत हुँदा
आकाश निर्मल हुनेछ
भूमरीमा उडेका चराहरु फिर्नेछन्
जहाँ सुस्केराका आभाष पाइन्छ ।
हो, मैले दिने उपहारले
राम राज्यको अनुभूत गराउँछ
सुनौला भविष्यका
मार्ग परिलक्षित हुन्छन्
जहाँ मान्छेको मूल्य हुने हुँदा
अवस्थाले पाटो फेर्छ
इतिहास बदलिन्छ ।
हो, आज म प्रियजनलाई
त्यहि अमूर्त उपहार दिन चाहन्छु
जो पैसाले किनिन्न
रगत बगाएर पाइन्न
जो अजेय अखण्ड र शक्तिशाली छ
विश्वयुद्ध भएपनि उसैले जित्दछ
गोला बारुद्धसँग भुटिंदै गर्दा
अझै खारिएर निस्कन्छ
जो चित्कारको आवाजले आह्वान गरिन्छ ।
हो, आफन्तको हत्या भएको बेलामा पनि
बेदना र क्रन्दनलाई विसाएर
मेरै अजम्बरी उपहारको नाम लिइन्छ
शान्ति ! शान्ति !
आकाश धर्तीले पुकार्ने
युग युगसम्म गुञ्जने
‘शान्तिको शुभकामना’
मैले प्रियजनलाई दिने अमूर्त,
अजम्बरी उपहार ।
– रेवतराम बरुवाल, वि.एड. प्रथमवर्ष (अंग्रेजी)
धनकुटा बहुमुखी क्याम्पस, धनकुटा ।