~स्वप्निल स्मृति~
संसारमा सबैभन्दा सुन्दर सपना हुन्छ
र सपना देख्ने आँखाहरु
सबैभन्दा भाग्यमानी हुन्छन्
भिंडहरु छिचोलेर दादागिरी भिंडहरु
सपनाकै पछि… पछि… दगुरिरहेछन्
स्टेसनबाट राजमार्ग गुड्छ
एयरपोर्टबाट अन्तरिक्ष उड्छ
र बन्दरगाहबाट हिंड्छ समुन्द्र
उहिं सपनाकै पिच्छामा ।
हामीसंग छन् केही बागी सपनाहरु
जो इतिहासले लखेटी-लखेटी हत्या गर्न खोज्छ मूल सडकमा
भाग्छ सपना कर्साईंहरुका आँखाहरुबाट फुत्किएर
शताब्दीहरु टेकेर हिंड्दा
कति भूमिगत इतिहासको गर्तमा
मिथक बनेर उभिएका छन्-शिरिजंगाका पाइलाहरु
हामी पनि त
आधा त शहीद भएर मरिसकेछौं,
हामी उम्किएर बडो अचम्म यहाँ आइपुग्यौं
हामीसंग थियो-केवल सपनाको साँघु
-केवल फुत्किरहेको ढुक्ढुकीको संगीत
यो यात्रामा हामीले भोगेको नांगो सत्य-
सपना देख्नु
जिउँदो हुँ भन्ने जिकिर मात्र हो
सपना मरुभूमिदेखि बेबिलोनसम्म टाँगिएको
रंगीन धागो मात्र हो मृगतृष्णाको ।
सपना
सुन्दर फूलहरुमाथि नाच्ने ऋतु-नायिका
इष्र्या नै इष्र्याको आग्रहसम्मतमा टिप्न खोज्दा
कालो क्षितिज छिचोलेर टाढा…टाढा… उड्ने
झन् सुन्दर पुतली मात्र हो ।
के त्यसोभए अब हामी सपना देख्न छाडौं –