कविता : असम्भव प्रयासहरु

~गीता सन्ताप ~

चित्रकार हुदो हुँ त
मेरो लुटिएको अस्मिताको चित्र
आफै कोरिदिन्थे म
खुल्ला परिवेशमा
स्वतन्त्र गुन्गुनाउन सक्दो हुँ त
मेरो लुटिएको परिवेशको
गीत गाइदिन्थे म ।

तर
न म चित्रकार हुनु
न म गायक हुनु !
मात्रै चेली हुनुमा
आसु बगाएर दुःख धुन खोज्ने
मेरा असम्भव प्रयासहरु बीच
यहाँ लालिमाले रंगीएको बिहानीको
तापक्रम बढ्दैछ
मौन भाषामा ।
मेरो जीवनको लालिमा पनि
अस्ताउँदैछ अन्धकारको भाषामा ।

भन्नु केही छैन यहाँ
प्रत्येक उषामा
लुटिन्छन् “म” हरु
अनि प्रत्येक साँझ
फुटपाथमा जन्मन्छन्
भोका पेटहरु ।

यहाँ प्रत्येक साझपख रंग भरेर
प्रत्येक भोजनालयमा
पस्किएर लुटिन्छन् “म” हरु
यत्र-तत्र जताततै
लुटिंदैछन यहाँ “म” हरु ।

चित्र कोर्दाकोर्दै
क्यानभासमा हानिएका रंग र रेखाहरु
पखालिदिन्छ आँसुले
खुल्ला आकासमा
मेरो बेदना बिस्तारित हुन नपाउँदै
मेरो कैदी अस्मिता रुन्छ
हो, यहाँ मेरो हर दिनको हर बिहानी
मजाले चिच्याउन नसकेर
मौन हुन्छ ।

अनि “म” हरु कोही आफ्नै भाषामा लुटिन्छन्
कोही रहरको भाषामा
कोही विवशताको भाषामा
कोही बलात्कारको भाषामा
कोही परम्पराको भाषामा
फरक यत्ति हो
भोक र प्यास
विलास र विश्वासमा
छुट्टाछुट्टै परिवेशमा
तँछाड् मछाड् भएर लुटिन्छन् ।

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.