~शम्भु दङ्गाल ~
परलोक भएका ती भीमसेन थापा काजी
हातमा प्लेट र काँटा बोकेर
एक्कासि आए सपनामा
र मागे धरहराको एक प्लेट मम
उसरी नै आए सपनामा
बोकेर ठूलो कचौरा र डाडु
राजा प्रताप मल्ल र उनकी रानी
उजाड पोखरीको बीचमा बसेर
पिए एक–एक कचौरा ममको झोल
सुन्धारामा
भक–भक उमाली सकिएको छैन अझै
भूकम्पले मरेका भैंसी र कुखुरा
अनि सीमापारिबाट
ट्रकका ट्रक खाँदेर ल्याइएका भंैसी र बन्दागोपी
ममको वाफ सुँग्दै
छेउको खण्डहर धरहरा
हरेक दिन
ट्वाँ परेर हेरिरहेछ मान्छे, मम र काँटा
हरक्षण छ खण्डहरको छेउमा लामो लाइन
स्वादे जिब्रा र भोका पेटहरूको
हातहातमा जुलुस छ प्लेट र चम्चाहरूको
हरेक बिहान
हरेक दिउँसो
र हरेक साँझ
हेरिरहेछ खण्डहर धरहरा उसरी नै
आइरहेछन् भोका जुलुसहरू
गइरहेछन् अघाएका पेटहरू
यसरी नै सधैँ सधैँ हरेक दिन हरेकका पेटमा
ठडिइरहेछ अनगिन्ती मोमोको धरहरा
ममको स्वादमा पल्केर
उसरी नै अर्कोचोटि फेरि सपनामा आए थापा काजी
अनि
शिलान्यास गरे सुन्धराको भग्नावशेष छेउ
ममको धरहरा
जुन आपूर्ति हुनेछ सिंहदरबारका मन्त्रालयहरूमा
उसरी नै आइन दलबलसहित अर्को सपनामा
राजा प्रताप मल्लकी रानी
बालगोपालेश्वर मन्दिरको भग्नावशेष छेउ
रिबन काटेर सिल्यान्यास गरिन
ममको ठूलो झोल उद्योगको
र यो उत्सवमा
निरन्तर बेस्सरी ताली ठोकिरहे
काठमाडौंका मन्त्री र मेयरले ।
(स्रोत : रातोपाटी डट कम)