~गोपाल योञ्जन~
कहाँ पर्यो पूर्व हो कता झुल्क्यो घाम
आफ्नो त जन्मै अन्धो बैरागी राम
झरेजस्तो लाग्छ आफू तल तल साथी
हुन्न केही भन्छन् सबै नपुगी त माथि
माथि जाने बाटो छैन समाउने लाठो छैन
आफूलाई त दिउसै पनि लाग्छ सधैँ राती
आफ्नै चित्त बुझाउन म त भन्छु साथी
आँखा भएको अन्धो भन्दा नदेखेकै जाती
सुन्छु अब कोही भोका नाङगा हुन्न रे
न्यानो घामबाट कोही टाढा हुन्न रे
कस्तो लाग्यो बादलु यो के ले छेक्यो घाम
घरै डढाइ ताप्दा पनि तातो हुन्न आङ
सुन्छु सधैँ खुला हुन्छन् ईश्वरको ढोका
मन्दिरकै बाहिर मर्छन् भोका रहने मुख
कहाँ पर्यो पूर्व हो कता झुल्क्यो घाम
आफ्नो त जन्मै अन्धो बैरागी राम
शब्द, सङ्गीत तथा स्वर : गोपाल योञ्जन