~जीवा लामिछाने~
दुबईका शासकहरूले समुद्र पुरेर बनाएको ‘पाम जुमेरा’ धेरैका लागि एउटा स्वप्ननगर हो। ‘सेभेन स्टार’ भनिने ‘पाम जुमेरा’ को ‘बुर्ज अल अरब’ लाई आठौं आश्चर्य नै मानिन्छ। संसारकै नमूना परियोजना पाम जुमेराका होटल र आवास–अपार्टमेन्टहरूले कसलाई आकर्षित नगर्लान्! शाहरूख खान, डेभिड बेकह्याम लगायतका सेलिब्रेटी र विश्व प्रसिद्ध उद्योगपति–व्यवसायीले यहाँ अपार्टमेन्ट किनेका छन्।
‘एट्लान्टिस् दि पाम’ होटल पाम जुमेराको एउटा आकर्षण हो। डेढ अर्ब अमेरिकी डलरको लागतमा निर्मित १५३९ कोठा भएको २३ तले एट्लान्टिस् लक्जरी डिलक्स होटल, गएको दशकमा दुबईमा भएको बाहिरी लगानी र विकासको प्रतीक हो। क्रेइज्नर इन्टरन्यासनल होल्डिङ्सका मालिक सोल क्रेइज्नरले नोभेम्बर २००८ मा यो होटल खोल्दा अन्तर्राष्ट्रिय हेडलाइन बनेको थियो। अन्तरिक्षबाट समेत देख्न सकिने आतिशबाजीका साथ गरिएको होटलको उद्घाटन समारोहको खर्च नै डेढ करोड डलर थियो। यो कार्यक्रम मेरो छोरा अनुकृतले टेलिभिजनमा हेरेको रहेछ। एक रात भए पनि यो होटलमा बस्ने उसको इच्छा पूरा गर्ने मौका मैले गत जुलाईमा सेसेल्सबाट मस्को फर्किने क्रममा मिलाएको थिएँ। म यो होटलमा पटक–पटक गए पनि राति बस्ने चाँजोपाँजो मिलेको थिएन।
स्वप्निल एट्लान्टिस्
दुबई एअरपोर्टमा विन्दिता, अनुराग र अनुकृतको अन–अराइभल भीसा लिएपछि हामी ट्याक्सीबाट अपरान्ह तीनबजे पुग्दा एट्लान्टिस् खचाखच थियो। पुग्ने वित्तिकै कोठाको व्यवस्थापन नभइसकेकोले हामीलाई त्यहाँका १३ रेस्टुरेन्टमध्ये क्यालिडेस्कोपमा निःशुल्क लन्च गराइयो। आतिथ्यमा कुनै कमी हुन नदिन यस्तो महँगो सहुलियत दिइएको थियो। लन्चपछि साँझ् आठ बजेसम्म वाटर पार्क र स्वीमिङ्ग पुलमा बस्यौं। छोराहरू माछा जस्तै पानीमा उफ्रन, ट्युबबाट क्यानलमा घुम्न, माथिबाट खसेको पानीमुनि उभिएर मसाज लिन बढी रमाए। वाटर पार्क र त्यसभित्रका अनगिन्ती वाटर एड्भेन्चर, डल्पि्कन वे― होटलका मुख्य आकर्षण रहेछन्।
समुद्रभित्र जस्तो लाग्ने ‘लस्ट च्याम्बर’ को अक्वारियममा देखिने अनेक रूपरङ, आकारप्रकार र प्रजातिका ७० हजार माछाका क्रियाकलाप अद्भुत थियो। एक करोड लिटरको यो अक्वारियममा साना–ठूला माछाहरूसँगै केही मानिस ‘स्नोर्कलिङ’ गरिरहेका थिए। हामी ‘लस्ट च्याम्बर’ बाट शीत परिरहेको सुरुङ हुँदै दुलहीझै सिंगारिएको एट्लान्टिस् परिसरमा निस्कियौं। सन् २०१२ मा संसारकै सबैभन्दा हाइजेनिक होटल घोषित एट्लान्टिस्को राम्रो तलब सुविधामा रमाएर काम गरिरहेका करीब २०० नेपालीमध्ये केहीसँग भलाकुसारी पनि भयो।
बिहान हामी फेरि स्वीमिङ्ग पुल र समुद्रमा गयौं। समुद्रको पानी हिजो जस्तो तातो थिएन। जलक्रीडापछि ब्रेकफास्टका लागि शाफ्रो रेस्टुरेन्टमा जाँदा चाख्न मात्र पनि सम्भव नहुने अरेबियन, इन्डियन, चाइनिज, जापानिज, फ्रेन्च, इटालियन र अन्य परिकार तयार थिए। ब्रेकफास्टपश्चात् पुनः एकपटक वाटर पार्कको ट्युबमा एक फन्को लगाएर हामी होटलबाट बाहिरियौं। मुख्य शहरबाट टाढा स्वप्निल एट्लान्टिस्को एउटा विशेषता अत्यन्तै महँगो हुनु पनि थियो।
स्वदेशको सम्झ्ना
एट्लान्टिस्को एक रातको बसाइमा मलाई स्वदेशको अथाह सम्भावना र रिक्तताहरूको मिसमास सम्झ्ना भइरह्यो। नेपालमा नभएको समुद्रको अभाव पूर्ति गर्ने भरमार प्राकृतिक र सांस्कृतिक सम्पदाहरू छन्। यिनको व्यवस्थापन र बजारीकरण गर्ने हो भने संसारभरिका मानिसको छुट्टी मनाउने उत्तम गन्तव्य बन्छ, नेपाल। संसार अहिले
एउटा गाउँजस्तो भइसकेको छ र बहुराष्ट्रिय कम्पनीहरू लगानीका लागि चारैतिर आँखा लगाइरहेका छन्। नेपालमा राजनीतिक स्थिरता, शान्तिसुरक्षाको प्रत्याभूति र मजदूर संयमता मात्र हुने हो भने पर्यटनसहित सबै क्षेत्रको विकास निजी क्षेत्रले नै गर्ने थियो। आर्थिक गतिविधिका लागि उपयुक्त वातावरण भए अरबको उजाड मरुभूमिमा पैसा खन्याइरहेका विदेशी कम्पनी र धनाढ्यहरूको लगानीको प्रतिस्पर्धा नेपालमा चल्ने पक्का छ। त्यो अवस्थामा प्रकृतिको वरदान नेपालमा उनीहरूले अद्भुत संरचनाहरू निर्माण गर्थे होलान्। रोजगारीको भण्डार पनि नेपाल नै हुन्थ्यो होला।
आखिर, दुबईले गर्व गर्ने यो स्वप्निल एट्लान्टिस् होटल पनि विदेशीले नै त बनाएका हुन्। नेताहरूले राजनीतिक प्रतिस्पर्धासँगै विकासमा पनि होड गर्ने हो भने छोटो समयमै समृद्धि प्राप्त गर्ने खालको छ, हाम्रो देश।