~तिर्थराज अधिकारी~
छन्द : अनुष्टुप्
पानी ! पानी !! भनी कोही चिच्याईकन मर्दछ
पानीभित्रै फसी कोही बाँच्न चीत्कार गर्दछ !
भोकले कोही ढल्दै छन् , कति अजीर्ण भैकन
ढल्दै छन् दुनियाँ देख्छु नाना रंगीन जीवन !
म रुँदा शोकले अर्को हाँस्छ हर्षविभोर भै
म हाँस्छु रुन्छ ऊ फेरि बलिन्द्र आँसु बर्सिँदै !
समताको कुरा सुन्छु , देख्छु विषमता सबै
यौटै समयका यात्री जान्छन् जन्त, मलाम क्वै !
कतै निद्रा, कतै स्वप्ना, कतै छन् बिपनाहरू
सृष्टिका रूप कस्ता यी , कस्ता यी शृंखलाहरू !
सिड्॰गो धर्ती र आकाश खण्ड- खण्ड विभक्त छ
घडीको सुईको गन्ती भाषासाथ अनेक छ !
कहाँ थिच्दा कहाँ बल्छ , निभ्छ यो मनको दियो ?
प्रश्नमा प्रश्न अल्झिन्छ के हो जीवनको मियो ?
घामछाया घुमेका छन्, खेल खेल्छन् क्रमैसित
मनभित्र डुबुल्केर खेल खेल्छन् सबैसित !
पग्लिएर अझै जम्छन् अग्ला यी हिमटाकुरा
गएर पनि फर्किन्छन् ऋतुसाथ सयौँ कुरा !
आँखा चिम्लेपछि फेरि खोल्नलाई म सक्दिनँ
निशाको कोखको घाम हुन कैल्यै म सक्दिनँ !!
(स्रोत : “सपनामा हराएको बिपना” – कवितासंग्रह – २०६६ बाट साभार )