~प्रेम संग्रौला~
कहिले फुटपाथमा दाह्रा डि०च्याउंदै
कहिले घरघरमा आफैलाई घिच्यांउदै
कहिले आपत पर्यो भन्दै,
कहिले विपत्तिको राग अलाप्दै
कहिले दुबै हात पसार्दै
कहिले बीच बाटोमै लम्पसार पर्दै
जीवनलाई सुखी बनाउने रहरमा
स्वजनलाई खुसी बनाउने रहरमा
अलिकति धाकधक्कु लगाउने रहरमा
जोरीखोज्नेलाई ढाड सेकाउने रहरमा
मगन्तेको यो नम्र निवेदन,
हजुर समक्ष जाहेर छ ।
स्वादे जिब्रो चसक्क पार्न, अलिकति नुन दिए पनि हुन्छ
बुचे कान सजाउन, अलिकति सुन भए पनि हुन्छ
भोको पेट भर्न, चामलसँग घुन दिए पनि हुन्छ
खून त आफैसँग फालाफाल छ हजुर
बरु मातेको सुरमा गुन्गुनाउन,े हजुरको अलिकति धून पाए हुन्छ ।
हात थापेको छु हजुर,
स्वाभिमानलाई बन्धकी राखेको छु हजुर,
आश्वासनको बोली दिए पनि हुन्छ, ज्यानै लिने गोली दिए पनि हुन्छ
पैसैपैसाको झोला भए पनि हुन्छ, बारुद र बमको गोला भए पनि हुन्छ
बासी रोटी भए पनि हुन्छ, नफाटेको धोति भए झन हुन्छ
विकासको भाषण दिए पनि हुन्छ, हजुरकै शासन दिए सुनमा सुगन्ध हुन्छ
माग्ने मान्छेलाई हजुर, जे भए पनि हुन्छ,
गड ब्लेस यू हजुर,
रित्तोहात नफर्काए हुन्छ ।
-भर्जिनिया,
जुलाई १८, २००२