कविता : नेपाल आमाको पुकार

~बबुल लामा~

अहिले नेपाल आमा रोइरहेछिन्, चिच्याइरहेछिन्
र पुकारीरहेछिन् आफ्नै सन्तानहरुलाई
भो, भयो अव अति भयो
बन्द गर, यी सब तिमिहरुका आडम्बरी नाराहरु ।
आफ्नै भाइले भाइलाई मार्ने,
आफ्नै छोराले बाउलाई काट्ने,
आफ्नै दाइले बहिनीलाई बलात्कार गर्ने
हत्यारा र बलात्कारी संस्कृति चाहिदैन मलाई
भो, भयो अव अति भयो
बन्द गर, यी सब ताण्डव नृत्यहरु ।।

देश बनाउने होडमा देशै नाश गरीसक्यौ,
जनताका नाममा जनतालाई नै विनाश गरीसक्यौ
अव बाँकी नै के छ र ?
आउ नपुगे मेरा सुकेका लाम्टाहरु चुस,
आउ नपुगे मेरा निर्जिव भइसकेका नशाहरु लुछ,
आउ नपुगे मेरा मासि विनाका हाडखोरहरु चपाऊ
म आमा हुँ, म दिन्छु सर्वस्व,
मैले सदैब दिएको छु तिमिहरुलाई
लिने मेरो धर्म होइन ।
घरमा आगो लगाइसक्यौ,
घरका भित्ताहरु रगतले पोति सक्यौ
सबै सबै, सबै अव सिध्याइ नै सक्यौ
अव बाँकी केहि छैन ।।

त्यसैले तिमिहरु ऋाफैले आफैलाई मेट्न लागेका छौ
मान्छे बचाउने धर्म छाडेर मार्ने कर्मतिर लागेका छौ
आखिर के जित्छौ तिमिहरुले आफैलाई मेटेपछि,
के भोग्छौ तिमिहरुले आफ्नै घरलाई जलाएपछि ।
मैले त सपुत बनाउँछु भनेर जन्माएको थिएँ,
मैले त सपुत बनाउँछु भनेर हुर्काएको थिएँ,
तर कपुत भएछौ,
हे कपुतहरु, बन्द गर अव
यी सब हत्या, हिंसा र आतंकहरु ।।

जित्दैन कसैले केहि पनि
मारेर आफैले आफैलाई
बरु मर्दछिन् सहन नसकी धर्ती माता
हार्दछ त्यो दिन देशले ।।

– १ अक्टुबर, २००२

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.