~मनप्रसाद सुब्बा~
फूलको पराग यौटा अक्षर पाएँ।
एक छेउका ढुङ्गा र एक चिम्टी माटो पनि मेरो हातमा आएर
अक्षरहरू नै भइदिए। अनि ती अक्षरहरूलाई
एक थोपा पसिना र एक थोपा आँसुले मुछेर
यौटा शब्दको आकृति दिए
र मेरो सासको गन्ध हालेर
मेरो स्वरको तरङ्गसित छोड़िदिएँ।
मबाट छुटेपछि, त्यो शब्द पुरै डुलन्ते भयो।
जता गयो त्यतैको भयो। जोसित बस्यो उसैको भयो।
तर अड़िएर कतै बस्न सकेन।
अचेल त्योसित मेरो कतै भेट भइहाले तापनि
त्यसले कहिले काहीँ बोलाउँछ मलाई। म रामर्री चिन्दिनँ त्यसलाई।
त्यसले कहिले काहीं बोलाउँछ मलाई। तर त्यसको स्वर
निकै भिन्दै भएको छ। भिन्दै भइरहन्छ।
एकपल्ट सोधें त्यसलाई –
” तँ किन यसरी बद्लिरहन्छस् हँ, मेरो शब्द?”
त्यसले ठाड़ै जवाब दियो –
“अरे! तिमी चैं किन बद्लिन चाहँदैनौ?
के तिमीले आफूलाई कहिले नबद्लिने भगवान सम्झेको?
बद्लिरहनुमा आनन्द छ। बद्लिरहनुमा त
गति छ अनि जीवन छ। बुझ्यौ?”
(सृजन – समय-2008 – बाट साभार)
(स्रोत : रचनाकार डट कम)