~अटल बिहारी वायपेयी~
अनुवाद : सुवास दीपक
जो हिजो थिए,
ती आज छैनन्।
जो आज छन्,
ती भोलि हुने छैनन्।
हुनु, नहुनुको क्रम,
यसरी नै चलिरहनेछ,
हामी छौं, हामी रहनेछौं,
यो भ्रम पनि सधैँ रहिरहनेछ।
सत्य के हो?
हुनु वा नहुनु?
अथवा सत्य हुन् दुवै?
जो छ त्यो हुनु सत्य हो।
मलाई लाग्छ
एउटै सत्यका दुइ पाटा हुन्
शेष सबै बुझाइको फरक हो,
बुद्धिको व्यायाम हो।
तर नहुनुको पछि के हुन्छ,
यो प्रश्न अनुत्तरित छ।
प्रत्येक नयाँ नचिकेता,
यस यक्ष प्रश्नको खोजीमा छ।
सबै साधकलाई ठगेको छ यस प्रश्नले।
सायद प्रश्न नै रहने छ यो प्रश्न।
यदि केही प्रश्न अनुत्तरित नै रहे
त्यसमा नराम्रो के छ?
हो, खोजीको सिलसिला नरोक्यिोस्,
धर्मको अनुभूति
र विज्ञानको अनुसन्धानले
एक दिन निश्चय नै
बन्द ढोका खोलिनेछ।
प्रश्न सोध्नको साटो
यक्षले स्वयं उत्तर बोल्नेछ।
(अनुवाद – सुवास दीपक, “मेरा एकाउन्न कविता”, प्रकाशकः निर्माण प्रकाशन, गुम्बा घुर्बिसे, नाम्ची, दक्षिण सिक्किम, भारत, पहिलो नेपाली संस्करण – 2005)
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)