~भविलाल लामिछाने~
छप्ल्याङ्ग छपनी पानीमाथि छाल
अल्छीलाई बल्छी माछाको काल
पानी भयो धमिलो माछा डुल्न थाले
बल्छीको चारोमा माछा झुल्न थाले
बल्छीको डोरीलाई कुन्नि के’ले तान्यो
माछो पऱ्यो ठूलो भन्ने पुड्केले ठान्यो
डोरी छिन्ने डरले नगरेर ढिलो
पुड्के ओर्ल्यो पनीमा घुँडाघुँडा हिलो
रूख ढली पोखरीमा तेर्सिएको मुढो
चिप्लिएर लड्यो भने फुक्लिजान्छ घुँडो
ठूलो माछो पऱ्यो भने स्वाद मानी खान्छु
अलिकति यहीं पोली बाँकी घर लान्छु
डोरीसँग हिंड्न थाल्यो माछो छोप्नलाई
बल्छी गई अल्झिएछ मुढाभित्र हाइ!
अल्छीलाई हुन्न कवै पुर्पुराको साथ
जीवनमा खाने गर्छ उसले सधैँ मात।
(“बादलपारिको देश”बाट साभार)
(स्रोत : रचनाकार डट कम)