कविता : नमस्ते

~रामकुमार श्रेष्ठ~

आदर गरिन लायक नै नभएकोलाई आदर कसरी गरौं
बिस्वास गरिन लायक नै नभएकोलाई बिस्वास पनि कसरी गरौं
तर पनि समय सापेक्ष नमस्ते गर्दैछु नेताज्यू
मन लागे स्वीकार मन नलागे नस्वीकार
तर मलाई थाह छ –
नस्वीकारेर पनि त धरै छैन नि
किनकि
तिमी पनि अनभिज्ञ त छैनौ कि तिम्रो सामू तेर्सिने हरेक नमस्ते
योभन्दा अब्बल दर्जाको हुने छैन –
ती कि त औपचारिकताबश पस्किएका हुन्छन्
कि त स्वार्थपूर्बक
आदरपूर्बक र श्रद्धापूर्बक पाउने नमस्ते त
तिम्रो जीबनमा इतिहास बनिसक्यो
जसरी कि गुन्द्रुक, ढिँडो, सुकुल अनि चप्पल
तिम्रो लागि इतिहास बनिसके ।

नेताज्यू तिमीले आफ्नो इतिहास त बिर्सिसक्यौ होला
तर हामीलाई त हिजै जस्तो लाग्छ –
तिमी मन्त्री भएपछि पत्नी सहित भोज जाने बेलामा
सारी राम्रोसंग लगाउन रेखा भाउजूले सिकाउनु भएको
देउसी भैलो खेल्नेहरु आउँदा दिने केही नभएर
तिम्री श्रीमति पल्लाघरे दाइकहाँ लुक्न गएकी
तिम्रो छोरो बिरामी पर्दा हामीहरुले चन्दा उठाएर जोगाएको
तिम्री छोरीले उपल्लाघरे जानकीको जडौली घाँघरमा लाज जोगाएकी
तर
अब त तिमी अरबपति भएका छौ
ठूला ठूला कुरा गर्दै आफ्नो अनुकूलता कुराहरु तोड्छौ मोड्छौ
मानौं सबै भेंडा हुन र सबै तिमीलाई पत्याइ रहुन्
आफै बुद्धू हुँदै अरुलाई बुद्धू बनाउने धृष्टता गर्छौ
त्यसैले तिम्रो यो बहादुरीलाई मेरो पुनः नमस्ते ।

देश त आमा हुन् भन्दै देशको मुहार फेर्ने बग्रेल्ती योजनाका कथाहरु सुनाउछौ
अनि त्यही आमालाई डुबाउने गरी भ्रष्टाचार गरी शोषण रहित समाजकॊ गीत गाउँछौ
नाताबाद कृपाबाद र फरियाबादमा चुर्लुम्म डुबी समानताको गुड्डी हाँक्छौ
आफ्नो गल्ती लुकाउन अरुमाथि दोष निर्धक्क थुपार्छौ
आमाको चोक्टा लुछ्न खोज्दै र लुछ्दै राष्ट्रियताको मन्त्र जप्छौ
त्यसैले तिमी जस्ता पुरुषार्थीलाई मेरो नमस्ते ।

राजनीतिज्ञ नै नभए पनि सबैलाई जस्तै थाहा छ
गोर्भाचोभ किन र कसरी अच्चम्मैसंग हराए
तर नेल्सन मण्डेलाको ९० औं जन्म दिनमा संसारमा सबै किन रमाए
लेण्डुप दोर्जे आफ्नो इतिहास संझदै आफै किन कहालिए
तर महात्मा गांधी इतिहासमा संधै संधै किन चम्किए
यति बुझ्न पनि नसक्ने सुस्त मनस्थिति भएका काला बिराले नेताहरुलाई
मेरो कोटी कोटी नमस्ते !

रामकुमार श्रेष्ठ
केण्ट, वेलायत

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.