बहरबद्ध गजल : अतिसार नहोस्

~गोविन्ददेव आचार्य~Jaydev Gobinda Acharya

छन्द : तोटक

अति निम्न नहोस् अतिसार नहोस्
ठिक जीवन होस् तर हार नहोस् ।।

श्रमले, गुणले भरजन्म जिऊँ
तर वञ्चन वा व्यभिचार नहोस् ।।

दिन-मास बितून् सब औसतमै
अति आर्जन वा व्ययभार नहोस् ।।

बरु ओत मिलोस् सुखले वनमा
पर-पीडनको दरबार नहोस् ।।

सजिऊँ म ढिँडो अनि गुन्द्रुकमै
छलको धनयुक्त भँडार नहोस् ।।

प्रतिविम्बन होस् शुभ सङ्गतको
तर जीवन शून्य, असार नहोस् ।।

गणतन्त्र पुगोस् झुपडी सबमा
अब बेथितिको सरकार नहोस् ।।

– विदुर न•पा• 3 शेरा, नुवाकोट ।

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.