कविता : अस्थि अस्ताउनेछिन् अमृता

~मीना सुब्बा~

सड़कको अन्तिम माइलखुट्टीमा
ढल्न लागेछ एउटा अद्भुत रूख
बस्, हावाको एक झोंका पर्खिरहेछ।

जीवनका सबै असार, मङ्सिर र भदौहरू
ठप्प छन्, अन्नत विश्रामको प्रतीक्षा छ।

धपक्क बल्ने प्रीतम खोज्दै
आतुरताले पुगेकी थिएँ म रमाइसो दर्शनमा
विस्फारित छन् मेरा नयनद्वय तर
समुद्रको छाल रोक्ने रङ्ग-रूपको त्यो मोहकता
कप्टेरै – कप्टेरा पारेछ संयको निर्मम घातले
क्षत-विक्षत थियो आँखाको सौन्दर्य सबै,
ड्यम्मै कुइरोले छेकेका छन् प्रीतमका रहरहरू
उनका अनेकन इच्छा र आकाङ्क्षाहरू,
केवल भित्ताभरि इमरोजका प्रेममय चित्रहरूबाट
कोठाभरिका सम्मान र पदकहरूमा
उदीप्त छन् ता अन्तरका सौन्दर्यहरू,
कोठामा एक थुप्रो लागिन् त के भयो र?
जब एउटै आत्मोत्सर्गले विश्वलाई पुगेको थियो
एउटै अनमोल आर्जनले हिमालको उच्चाइ छोएको थियो।
गुलाफको पत्रदल झऱ्यो त के भयो र?
पत्रदलमाझको परागमा असङ्ख्य प्रीतमहरूको प्रस्फुटन थियो।
प्रीतम, तिमी एउटा सुगन्धमय फूल भयौ र मीठो फल भयौ
रस बांड्यौ र सुगन्ध बाँड्यौ।

तिम्रो कोठामा मुटुको एक चोइटा छोड़ी नि:शब्द फर्किरहेछु म।
इमरोजको प्रत्येक चित्रबाट चिच्च्याउँदै भनिरहिछौ तिमी
कि मान्छेले केवल अस्थि अस्ताउनुपर्छ
हेर त मेरो पनि अस्थि विसर्जनको तयारी छ
स्थिर तलावमा पानीको फोका प्याट्ट फुट्न बाँकी छ,
एक मुट्ठी खरानी यताउता छरिनलाई
बस् एक झोंका हावा आउन बाँकी छ।

(दिल्लीमा प्रसिद्ध लेखिका अमृता प्रीतमको निवासमा उनलाई अत्यन्त अशक्त अवस्थामा भेटेपछि रचिएको कविता)

(स्रोत : रचनाकार डट कम)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.