~भेषराज रिजाल~
ʽयस्तै तालले पुगिन्छ त गन्तब्यमा ।ʼ गुँडतिर फर्किरहेका चराहरू गोधुलिको धमिलो क्षितिजमा हराउँदैथिए, तब मेरो मनको चरो बोलेथ्यो निसास्सिँदै ।
उज्यालोमै प्युठान खलङ्गा छोडेर बाग्दुला झरे पनि साँझको अत्यासलाग्दो सन्नाटाले छोइसकेथ्यो हामीलाई । नाइटबस चढेर सुन्दर बिहानीमा गन्तब्य टेक्ने हाम्रो अभिलाषा पनि खुम्चिँदै र खिइँदै गइरहेथ्यो पलपल ।
सम्बत् २०७२ साल माघीको दिन घोराहीस्थित बाह्रकुनेदहको मेला हेरेर खलङ्गा पुगेथ्यौँ टोलराज र म । खलङ्गालाई आधार शिविर बनाएर स्वर्गद्वारीसमेत टेकेथ्यौँ हामी । धेरैदिनदेखि नारायण भण्डारीको पाहुना भएर बसेका हामी काठमाडौं जान निक्लिएथ्यौँ आज ।
बाग्दुले बूढाले आँगनबाट खोरतिर सार्दैथियो बाख्रापाठा । घिच्याउँदा र तान्दा पनि म्याँम्याँ गर्दै बूढासँगै मायालु अनुनय गरिरहेथे पाठाहरू । मेरो मस्तिष्कमा भने नाचिरहेथे बाह्रकुनेदह किनारमा काटिएका भेडाका पाठाहरू । पशु जति मायालाग्दा हुन्छन् उति नै निरीह पनि । मान्छेको दयामायामा निर्भर छ तिनको प्राण । अरुको हातमा प्राण सुम्पेर निश्चिन्त रमाउने पशुको मायाले चिमोट्यो मुटु, काटियो मन, हल्लियो हृदय र रसाए आँखा ।
विस्तारै अँध्यारिँदैथियो डाँडाको फेद । एक्कासि अँध्यारिएथ्यो मनको फाँट ।
मोटर ग्यारेजका कामदारको गोजी-रुमालजस्ता देखिन्थे आकासमा बादलका टालाहरू । ती टालाले अनकन्टार पहाडी बस्तीमा झारेथे आफूजस्तै कालो छाया । सोचेथेँ, चिसोदिनमा भोकानाङ्गा बस्तीमाथि छाया झार्ने कालो बादलले दुनियाँको कति सराप खेप्दो हो ?
ब्रेक बिग्रिएको बस बिनाऔजारै मर्मत गर्न लागिरहेथे चालक, सहचालक र बसधनी । टाइमपासले समेत बिनामिस्त्री बन्दैन भनेर हिँड्यो । मिस्त्री खोजेर बनाउने यात्रुको सुझाव लत्याउँदै घुँडा धसेर कस्सिइरहेथे उनीहरू । यात्रुको टिकटको पैसा फिर्ता दिने त धेरैपरको कुरा ।
ʽफर्कौँ भो खलङ्गै, भोलि बिहानको बस चढौँला ।ʼ टोल तर्क थियो ।
ʽयो बस छोडेर अर्को विकल्प खोजौँ बरु ।ʼ रिजाल राय थियो ।
ʽपर्खौँ र हेरौँ, अरु यात्रु पनि त छन् ।ʼ भण्डारी भरोसा थियो ।
यस्तै तर्क, राय र भरोसाको वीरबले खिचडी पकाएर चिसो रातसँग भोका सपनाहरू पसारिरहेथ्यौँ हामी । चिसो घोलिएको साँझमा न कसैको मनतातो स्पर्श थियो, न कसैको मनहर्ने मुस्कान । तैपनि हाँस्न बिर्सेका थिएनौँ हामी ।
ʽटाइमपासको बस चढ्दा वान्ता नभए अरु कसैकोमा हुँदैन ।ʼ गठिलो ज्यानको ड्राइभर टाइमपासलाई सम्झनुभएथ्यो भण्डारी ।
भण्डारीको कुराले हाँसिरहेका हामी फेरि मर्माहत भएथ्यौँ । हाम्रो बसको चारैकुनामा उभिएर टाइमपासले भर्खरै भनेको थियो- ʽयो बस केही गरे बन्दैन ।ʼ
एकैछिनपछि दुनियाँका अनेक विरोधाभासलाई चकित पार्दै खलासी कराएथ्यो- ʽबस बन्यो, छिटो चढौँ छिटो ।ʼ
बस बनेको सुन्दा पनि मन डराइरहेथ्यो । शंकाको सुइरो रोपिएको मन अँध्यारो मुख पारेर बोलेथ्यो- ʽअहिले बने पनि फेरि बिग्रिएर कतै खसाल्ने पो हो कि ? बरु यो चिसोरात बाग्दुले आकास ओढेर बिताउन पाएहुन्थ्यो यतै !ʼ
सुरक्षित यात्राको लागि सहाराको मसिनो त्यान्द्रो भेटिन्छ कि भनी खोजिरहेथेँ मैले । उल्टै टाउकैमाथि मडारिएथ्यो कालो बादल । कालो बादलमा पनि चाँदीको घेरो हुन्छ भनेर निकैबेर बादलका आकृति र रुपरङ नियालेथेँ । अँध्यारोले निल्दै लगेको बादलभित्र कहाँ देख्नु चाँदीको घेरो ?
रोल्पातिरबाट आउने बस फेला पार्न विकल्पहीन विकल्पको फेर समातेर नचढी भएको थिएन ब्रेक बिग्रेको बस । अनि त, जुम्री, दाखाक्वाडी हुँदै चेरनेटा पुगिएथ्यो । ओझेल हुन लागेको खलङ्गा र सेरोफेरो निरस आँखाले फर्केर हेरेथेँ मैले ।
ऐतिहासिक विरासतको धङधङी ओढेर डाँडामा ठिङ्ग उभिइरहेथ्यो खलङ्गा । रुञ्चेअनुहार लाएको बिजुवार खलङ्गाको छायामुन्तिर हराइरहेथ्यो अँध्यारोमा । निर्वाहको साँगुरो गोरेटोमा घिस्रिरहेथे पश्चिमी पहाडका गाउँबस्तीहरू । आशा र आश्वासनको दोबाटोमा अल्मलिइरहेथे राजनीतिका विद्रोही गोरेटाहरू । उस्तै अँध्यारो मुख लाइरहेथे मल्लरानीलेक, भित्रीकोट र आसपासका अरू डाँडाकाँडा र लेकहरू । म अक्षरमा उतार्नखोज्छु निन्याउरो पहाडी अनुहार । मलाई थाहा छ, मेरो अक्षरले घट्दैन तिनको उदासी र गरिबी । आत्मरतिमा रमाउँदै आफैसँग सोध्छु- कति हेर्नु गरिबीले खाएको घरआँगन, अभावले निचोरेको अनुहार र फोहोरी खेलले बक्र बनाइदिएको दैनिकी ?
बाहिर चन्द्रमाको धमिलो उज्यालो छरिए पनि मनको उज्यालो भित्तामा देखिँदैथियो- बटारिएर खलङ्गातिर जाँदैगरेको सडक र विशाल फाँट बनाएर त्यसकै छातीमा लडिबुडी खेलिरहेको झिमरुक नदी ।
गाउँघर छोडेर हिँडेको मन बोलिरहेथ्यो एकोहोरो- अपरिचित मान्छेको भीडले बिरानो लाग्ने शहरजस्तो छैन गाउँघर । धुलो र फोहोरले ढाकिएर बिरामी भएको शहरजस्तो छैन गाउँघर । उता मान्छेको पदचापले खुइलिएर उजाड भइसक्यो शहर । बरु यता उज्याला आँगनले सम्पन्न लाग्छ गाउँघर । गरिब, मगन्ते र भिखारीको बस्ती भएको छ शहर । मुलुकमा समृद्ध केही छ भने गाउँघरको यही खुला प्रकृति ।
डरले गालेको मनको भित्तो समातेर चकचके ओर्लिएथ्यौँ हामी । हाम्रै सुरक्षार्थ बस पनि बिस्तारै गुडेझैँ ठानेर पलाएथ्यो थोरै भरोसा ।
माडीनदी किनारको चकचकेमा उभिएर सोचेथेँ- यही बाटो हो हिजो हामी स्वर्गद्वारी पुगेर फर्केको । पाण्डवहरू स्वर्गद्वारी हुँदै स्वर्ग गएको किम्वदन्तीले दुनियाँको लर्को लागेको छ यो बाटोमा । हुन पनि, प्युठान र रोल्पाका सुन्दर पहाडको मालामा गुथिएको एकथुङ्गा फूल रहेछ स्वर्गद्वारी । सामुन्नेका हिमचुलीको मोहक सौन्दर्य र मान्छेको आस्थाले सिङ्गारिएको स्वर्ग रहेछ स्वर्गद्वारी । घोराहीबाट होलेरी हुँदै स्वर्गद्वारी पुगेको स्मृतिसँग पनि मोहित भएथेँ म ।
माडीनदीको किनारैकिनार कुद्न थालेथ्यो बस । बसको ब्रेक बिग्रेको बिर्सेर गीत पो बजाउनथाल्यो गुरुजी । मानौँ, बाग्दुलामा घण्टौँसम्म मर्मत गरेको बस अर्कै थियो । बसको सिटमा टाँस्सिएका यात्रु पनि निश्चित देखिन्थे ।
छेवैको सिटमा बसेकी रुपसीको उन्माद, कटाक्ष र हाउभाउ देख्दा लाग्थ्यो- त्योभन्दा खुसी हुनुपर्ने क्षण नै हुँदैन ।
ʽअब चिन्ता नगरौँ बस राम्ररी मर्मत भएछ !ʼ रुपसीतिर सङ्केत गर्दै बोल्नुभएथ्यो भण्डारी ।
ʽरुपले परिस्थितिको विश्लेषण गर्नेभए शायद ती रुपसी रोइरहेकी हुनेथिइन अहिले !ʼ खोइ किन हो उनको आक्रोशित भएथेँ म ।
मान्छेले कतिछिटो बिर्सनसकेका त्यत्रो पीडा ? अक्षम्य अपराध बिर्सेर मुस्कुराउने नेपाली-बानी रत्तिभर मन पर्दैन मलाई । आकासभन्दा विशाल नेपाली-छाती देखेर गौरवान्वित सम्झनाले पनि शिर उँचो हुनदिएन मेरो !
पीरहरूको कालकोठरीमा थुनिएर कसरी कट्ला यो कालरात्री ? एकरात कटाउन पुरै जिन्दगी बिताउन परेजस्तो भइरहेथ्यो ।
बाहिरको अँध्यारो र बसभित्रको स्तब्धताले निचोर्दै ल्याएपछि मनभित्रै खुम्चिएथेँ म पनि । मनले हजारौँ प्रश्नको तिरमा उनिरहेथ्यो मलाई । कसरी सिर्जिन्छ बिग्रेको बसमा चढ्नैपर्ने बाध्यता ? बिग्रेको बस दुर्घटना भएर यात्रु तलमाथि परे कसले लिन्छ त्यसको जिम्मा- बस चालक वा सहचालकले, बस मालिकले, बस व्यवसायीले वा मुलुकी व्यवस्थाको नियामक सरकारले ?
अहँ, कसैले लिनेछैन जिम्मेबारी । केबल दुईचारदिन मिडियाले लिनेछ नाम । न कुनै अनुसन्धान, न कसैलाई कारबाही ! अनि एउटा नियमित भवितव्य सम्झेर सबैकुरा बिर्सने छ दुनियाँले ।
कति भीर पाखामा दौडियो, कति घुम्तीमा मोडियो- रत्तिभर हेक्का थिएन मनमा । मनको अँध्यारोमै रुमल्लिएर छोडिएथे देवीस्थान, कुडुले र सिमलचौर ।
नयाँ ठाउँमा पुग्दा आफैलाई भुलेर संसार हेर्न हतारिन्छु म । हुरुक्क भएको चिजले ज्यान लिन्छ भन्ने सम्झेर चस्किएथ्यो मुटु । बसको गति सुस्त हुँदा मुटुमै ठोक्किएथ्यो खोलाको सुसाइ । पीरको रापले वाफिएको मन सम्हाल्न नसकेर हैरान भएथेँ म । मान्छे कमजोर हुँदोरहेछ- मन भाँडिए, मन छरिए ।
तन्द्रामा पनि खुस्किरहेथ्यो बसको ब्रेकको हावा । सामुन्नेको पहाडसँग तन्द्रामै बोलेथेँ म- चराहरूको सुरम्य गीतमा मग्न हुनपाउने तँ कति भाग्यमानी । सुकिला हिमटाकुराको दर्पण हेर्नपाउने तँ कति सम्पन्न । नदीको माला लाएर शीतल वनमा खेल्नपाउने तँ कति सुखी । तर, रात ओढेर निदाएको कालो पहाड एकधर्को मुस्कानसमेत नछरी भित्तातिर फर्केर टोलाइरहेथ्यो । सोचेथेँ, पहाडको पनि मेरोजस्तै होला चोट र व्यथा ।
बडडाँडा छोडिएथ्यो । दरभानमा रोकिएर चियानास्ता गरिएथ्यो । झिमरुक र माडीको सङ्गम मनोरम ऐरावती देख्न नपाए पनि राप्तीको किनारैकिनार कुद्नथालेथ्यौँ हामी ।
सम्बत् २०६५ साल जेठको पहिलोसाताको सम्झना दिलाएर सुसाएथ्यो राप्तीनदी ।
त्योदिन आमाले फोनमा डाँको छोडेर रुनुभएथ्यो । राप्तीनदीमा बस खस्दा प्युठानी बन्धु भेषराज रिजालको मृत्यु भएको रहेछ । त्यही खबर सुनेर रुनुभएको रहेछ आमा । आफू जिवितै भएको प्रमाण पेश गर्दै अनेक गरेर आमाको रुवाइ रोकेको थिएँ मैले । साथीभाइ, आफन्त र शुभचिन्तकहरूलाई पनि सम्झाउनुपरेथ्यो मैले ।
अहिले फेरि मेरो मनमा तुफान मच्याएर बगिरहेथ्यो राप्ती ।
सुन्दर दृश्य हेरेर गुड्दागुड्दै कसरी नदीमा खसे होलान् बिचराहरू ? सङ्लो पानीको कुन बिन्दुमा बिलाए होला तिनको गतिशील जीवन ? जीवनउत्सव मनाउँदै रमाएकाहरू मृत्युको मुखमा पुग्दा कस्तो कोलाहल वा स्तब्धता छाएहोला त्यहाँ ? त्यो सब मेरो कल्पना बाहिरको संसार थियो । जीवन र मृत्युको बीचमा केही सीमा, समय र दूरी हुन्छ भन्ने सोच्छु म ।
हामी पूर्वपश्चिम लोकमार्ग समातेर भालुवाङबाट पूर्वतिर हानिँदा दक्षिण-पश्चिम वेगिँदैथियो राप्ती । राप्तीले मेरी आमाको चित्कार र आँसु पनि बोकेर बगिरहेथ्यो ।
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )