~श्रीपुरुष ढकाल~
ए मेरी आमा कता छौ तिमी कहाँ छौ भनन
आमाको जस्तो पवित्र माया कहाँ पाउछुँ भनन
पाउँदिन भने फर्केर आउ पर्खेर बस्छु म
आउदिनौ भने जहाँ छौ तिमी त्यही नै आउँछु म
म रुँदा रुन्थ्यौ, म हाँस्दा हाँस्थ्यौ रमाउँदा रमाउँथ्यौ
देउराली पुग्दा भाकेर देवता तिमी पाती चढाउँथ्यौ
घाँसको भारी पछाडि हुन्थ्यो मचाहिँ अगाडि
दुवैलाई बोक्दा कति गारो हुन्थ्यो म कस्तो अनाडी
भोकाइ रुन्थें भएको ख्वाउँथ्यौ आफू भोकै बसेर
बिरामी हुन्थें रातभरि कुर्थ्यौं निदाउन बिर्सेर
अरूको लाख आमाको काख सुनेकै थिएँ नि
सजिलै पाउँदा त्यो चोखो माया बुझिन किन नि
श्रीपुरूष ढकाल
सानेपा, ललितपूर
(स्रोत : मधुपर्क २०६७ साउन)