संस्कृति परिचय : लिङ्गो जात्रा

~सुभाषराम लाछि~

काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा फरक फरक किसिमले बिस्केट जात्रा मनाइन्छ । ती ठाँउका जात्राहरुमा एउटा समानता भने देखिन्छ, त्यो हो लिङ्गो जात्रा — ध्वजोत्थान गर्ने परम्परा । ध्वजोत्थानको प्राचीनता निर्विवाद छ । पौराणिक ग्रन्थहरुमा यसको वर्णन हुनु अनि लिच्छविकालीन र मल्लकालीन अभिलेखहरुमा यस परम्पराको उल्लेख पाइनु नैं यसको प्राचीनताको दसी हो । संस्कृतिविज्ञ कुलचन्द्र कोइराला ध्वजोत्थानको परम्परा आर्यहरुको दशैं, तिहार भन्दा पनि पुरानो चाड हो भन्छन् ।

महाभारत कथा अनुसार, चेदिदेश (दक्षिण पांचाल) का राजा उपरिचर बसुलाई देवराज इन्द्रले एकपटक दर्शन दिंदै भने — ‘तिमी धर्मको पालना गरेर यस पृथ्वीलोकमा बस, तिमीले इहलोकको सम्पूर्ण सुख सुविधा पाउँनेछौ । म तिमीलाई एउटा विमान दिन्छु, यसमा चढेर तिमीले देवशक्ति पाउनेछौ ।’ यति भनेर देवराज इन्द्रले कहिल्यै नओइलाउने कमल पुष्पको वैजन्तिमाला र एउटा वैष्णवी ध्वजा पनि दिए । त्यो ध्वजा बाँसको थियो । त्यो ध्वजा पाएपछि राजा उभरिचरले इन्द्रको पूजाकोसाथ धूमधामसँग उत्सव मनाए । त्यसै बेलादेखि उपरिचर राजाले जस्तै हिन्दुराष्ट्रहरुमा ध्वजोत्थान परम्परा चलेको विश्वास गरिन्छ । प्रश्तुत कथामा वर्णित उपरिचर बसु युधिष्ठिर भन्दा लगभग एक सय पचास वर्ष पहिलेका देखिन्छन्, यस प्रकार हेर्ने हो भने ध्वजोत्थानको परम्परा लगभग पाँच हजार पहिले नैं शुरुवात भएको देखिन्छ ।

पौराणिक ग्रन्थ अनुसार पाँच हजार वर्ष पहिलेदेखि प्रचलनमा रहेको ध्वजोत्थान गर्ने परम्परा भारतका विभिन्न ठाउँको साथै नेपालका विभिन्न ठाउँमा हालसम्म पनि प्रचलनमा रहेको हामी पाउँछौं । नेपालमा ध्वजोत्थान गर्ने परम्परा लिच्छविकालमा नैं रहेको कुरा विभिन्न अभिलेखहरुले समेत प्रकाश पारेका छन् । मानदेवको चांगु

(तस्विर सौजन्य : तमाङ अनलाईन)

स्थित संवत् ३८६ को अभिलेखमा पूर्व पश्चिमका सामन्तहरुलाई पराजित गरी हर्षोल्लासका साथ गरुडध्वज स्थापना गरे भनिएको छ । अंशुवर्मा शिवदेवको संवत् ५२६ को लेलेको अभिलेखमा विभिन्न गुठीहरुसँगै ध्वजगौष्ठिक (ध्वजा गुठी) को पनि उल्लेख भएको देखिन्छ । यसबाट त्यस समयमैं ध्वजोत्थान गर्ने परम्परा रहेको मात्र होइन, यसको लागि गुठीको समेत व्यवस्था भैसकेको ज्ञात हुन्छ । त्यसरी नैं अंशुवर्माकै संवत् ३० को हाडीगाउँको अभिलेखमा ध्वजमनुष्य (ध्वजा बोक्ने मानिस)लाई दुई पुराण पण दिने व्यवस्था भएको उल्लेख पाइन्छ । यस अभिलेखले पनि तत्कालीन समयको ध्वजोत्थान गर्ने परम्परा र यसको व्यापकतालाई इंगीत गरेको छ ।

ध्वजोत्थान गर्ने प्रमूख चाडहरु इन्द्रजात्रा, होली, बिस्केट जात्रा आदि हुन् । होलीमा उपत्यकाका तीनै दरवारहरुमा ध्वजोत्थान गर्ने गरिन्छ । इन्द्रजात्रामा उपत्यकाका विभिन्न ठाउँमा इन्द्रध्वजोत्थान गर्ने प्रचलन रहेको छ । इन्द्रजात्रा र बिस्केट जात्रामा गर्ने ध्वजोत्थान — लिङ्गो ठड्याउने परम्परामा विधि विधानका साथसाथै ध्वजाको पनि समानता रहेकोले इन्द्रजात्राको ध्वजोत्थान गर्ने परम्परा नैं बिस्केट जात्रामा रुपान्तरण भएको हुनसक्ने कुरामा पनि विचार विमर्श हुँदै आएको पाइन्छ । इन्द्रजात्रामा लिङ्गो ठड्याउने परम्पराको शुरुवात यही समयदेखि भएको भन्ने थाहा पाउन नसके पनि बिस्केट जात्रामा लिङ्गो ठड्याउने परम्पराको शुरुवात मध्यकालको बीचबाट भएको कुरा गोपालराज वंशावलीबाट थाहा पाइन्छ । गोपालराज वंशावली अनुसार नेपाल संवत् ४१४ मा युवराज्ञी श्रीविरमदेवीले इन्द्रकूट बनाइन । तिनका छोरा जयशक्तिदेवले इन्द्रकूटमा ध्वजारोहण गरे । नेपाल संवत् ४१४ देखि नैं भक्तपुरमा लिङ्गो ठड्याउने परम्पराको थालनी भएको मानिन्छ । बिस्केट जात्रामा नै भक्तपुर लगायत बोडे, साँगा, श्रीखण्डपुर (खड्पु), चौकोट, सुनाकोठी र टोखामा पनि लिङ्गो ठड्याउने गरिन्छ । थिमिमा पनि पहिले लिङ्गो ठड्याउने गरिन्थ्यो भने नगदेशको जात्रामा हालसम्म पनि हातैले इन्द्रध्वज बोकी जात्रा गर्ने गरिन्छ । यस अलावा लिङ्गो ठड्याएर ध्वजोत्थान गर्ने प्राचीन परम्पराको उदाहरण हाडीगाउँको जात्रा, गुह्यश्वरी जात्रा र साँखुको जात्रालाई लिन सकिन्छ । यसरी नैं पहिले पहिले काठमाण्डौंको मय्ति टोलमा पनि ध्वजोत्थान गर्ने परम्परा रहेको कुरा थाहा हुन आएको छ ।

हाल भक्तपुरको यःसिंखेल (भेलुखेल) मा ठड्याइने लिङ्गोको व्यापक परिचर्चा भए जस्तै भक्तपुरकै तालाक्व कुम्हाल टोलमा ठड्याइने लिङ्गोको भने चर्चा भएको देखिंदैन । स्थानिय वासिन्दाहरुका अनुसार भेलुखेलको लिङ्गो भन्दा तालाक्व टोलको लिङ्गो अझ पुरानो हो, तर यस भनाईलाई पुष्टि गर्ने प्रमाणको भने अभाव रहेको छ । एक लोकोक्ति अनुसार, एक पटक भेलुखेलका लिङ्गो तालाक्व टोलका गणेशकहाँ व्छय्ला (मासु) चोर्न गएछ । यो देखि रीसले चूर्ण भई त्यस गणेशले त्यस लिङ्गोको नाक काटीदिए । भेलुखेलका लिङ्गो पनि के कम थिए र ? उनले पनि त्यहि गणेश मन्दिर अगाडी ठड्याइएका लिङ्गोका दुबै हात काटिदिए । त्यसै बेलादेखि भेलुखेलका लिङ्गोलाई न्हाय्मरु यःसिं (नाक नभएको लिङ्गो) र तालाक्वका लिङ्गोलाई ल्हाःमरु यःसिं (हात नभएका लिङ्गो) भन्न थालियो । त्यसैले तालाक्व टोलका लिङ्गोको हात नभएको कथन रहेको छ । भेलुखेलका लिङ्गोमा जस्तै तालाक्वका लिङ्गोमा तेर्सो गरी हात राखिंदैन । यी दुबै लिङ्गोहरु चैत्त मसान्तकै दिनमा ठड्याउने गरिन्छ, तालाक्वमा लिङ्गो नठड्याएसम्म भेलुखेलमा लिङ्गो ठड्याउन नहुने मान्यता रहेको छ । दुबै लिङ्गो एकै दिन ठड्याइउने भएपनि भेलुखेलको लिङ्गो संक्रान्तिको दिन ढाल्ने गरिन्छ भने तालाक्वको लिङ्गो चार दिनपछि मात्र ढाल्ने गरिन्छ ।

अन्य ठाउँका लिङ्गो भन्दा भक्तपुर भेलुखेलका लिङ्गो भिन्न देखिन्छ । अन्य ठाउँको लिङ्गोमा एउटै मात्र ध्वज वा पताका झुण्ड्याइन्छ भने यहाँको लिङ्गोमा दुई वटा ध्वज झुण्ड्याइन्छ । यी दुई ध्वज वा पताकालाई नागका विभिन्न कथाहरुसँग जोडेर यी दुई पताका नागका प्रतिक हुन भन्ने गरेको पनि पाइन्छ । तर त्यस पताकाहरुमा नागको प्रतिक स्वरुप कुनैपनि चिन्ह देखिंदैन । ती पताकाहरुमा गणेश, आकाशभैरव, अष्टमंगल आदिका चिन्हहरु देखिन्छन् । त्यसैले पनि यी पताकाहरु नागका प्रतिक होइनन् भन्ने थाहा हुन्छ । हुन त बिस्केट जात्रा स्वयम् पनि विभिन्न कथामा वर्णित नागहरुको मृत्यु पश्चात नागकै सम्झनामा मनाइएको जात्रा – बीसिका जात्रा (नाग मरेपछिको जात्रा) पनि भन्दै नआएको होइन । परन्तु बिस्केट शव्द यसरी आएको नभइ बिस्केटमा ठड्याइने वृषकेतु वा विश्वकेतु — इन्द्रध्वजबाट आएको हो भन्ने कुरा हाल आएर स्पष्ट भइसकेको छ । यही ध्वजबाट नैं जात्राको नाउँ रहेको र बिस्केट जात्राको शुरुवात लिङ्गो जात्राबाट नैं भई रथ यात्रा, खत यात्रा जस्ता अन्य परम्पराहरु पछि मात्र थपिएको भएकोले पनि लिङ्गो जात्रा बिस्केट जात्राको सबभन्दा महत्वपूर्ण पक्ष हो भन्ने कुरामा मतैक्य हुनुपर्ने देखिन्छ ।

This entry was posted in संस्कार - संस्कृति परिचय and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.