~स्पन्दन बिनोद~
(१)
पूरै देश खान सल्केको वनमारा लहरो हो
त्यो रोईरहेको निर्मलाको बाऊ बिचरो हो
गरिब, निमूखा जेलमा बलात्कारी छन् स्वतन्त्र
कान थुनेर बसेको अन्धो सरकार नकचरो हो
(२)
देश सोच्छु मनभरी अनेक सवाल भेटिन्छन्
मनपरीतन्त्रले गरीबको आँशु फाला-फाल भेटिन्छन
परदेशमा बसेर देश, आमा र घर सम्झनु कति
बिश्वास गरेकैहरू पनि आजकल चण्डाल भेटिन्छन्
(३)
कहिले काहि बाँदरहरू बार्दलीमा झुन्डिन्छन्
कहिले काहि खोल्सामा साँपहरू गुल्टिन्छन्
केहि हुन्न यो देशमा हेरिरहनुस् महोदय
साईरन बजाएर सडकैभरी लाटाकोसेरा मुन्टिन्छन्
(४)
जीउदो रहन्छन् मान्छे जवसम्म चोट रहन्छन्
संगै ज्यूछु संगै मर्छु भन्ने अठोट रहन्छन्
किन लाग्छ यस्तो जब चुक्दछन वाचाबाट
यार रहन्छन् यार जव सम्म नोट रहन्छन्
(५)
आजभोली बोल्छु सबैसित काठे भन्छन
यता उति हिड्न खोड्दा नाँठे भन्छन
मेरो पनि मनै हो छाक टार्न काम गर्दा
फलानो त कस्ती भैछ गाँठे भन्छन
-स्पन्दन बिनोद, लण्डन
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )