~सिमियोन रोक्का~
अङ्कल,
साँझको प्रहर
जब पहिलो चोटि तपाईँ हाम्रो घर आउनु भयो
म सम्झन्छु,
हातमा मलाई भनी चोकोफन ल्याउनु भयो
काखमा बसेकी मलाई
कडा हातले गालामा समाउनुभयो
सुर्ती वास आउने मुँह नजिक ल्याइ
आफ्नो छिपिएको दारी लाउनु भयो ।
रिसाएर म फनक्क फन्की तपाईँ बाट टाढा भागे
राक्षस,
कस्तो हुन्छ भन्दा, मलाई अङ्कलै जस्तो लागे
फेरी अर्को दिन अर्को चकलेट
सबै मिठा प्रकारहरू
बदलिएनन् तपाईँको बानी
बरु बदलिए मेरा शरीरका आकारहरू
म अझै सम्झन्छु अङ्कल
कोदोको भारी बोकी निस्केकी मेरी आमा
अनि हलो बोकी निस्किएका मेरा बाबासँगै
चकलेट बोकी मेरो घर तिर निस्किएका तपाईँका कदमहरू
म अझै सम्झन्छु, अङ्कल
बाहिर झरीले भिजेका बलेसीहरु
भित्र अन्यौलताको पसिना अनि रक्त मझेरीहरु
नाइ नाइ भनेर चिच्याएका चिचाहटहरु
म अझै सम्झन्छु, अङ्कल
लुटिएका मेरा रमाहटहरु
तपाईँको बल अगाडि फगत लाचार मेरा उम्कने इक्ष्याहरु
मेरो मनहरू शरीर सँगै छेडिए
म लाचार त्यसै त्यही परे
पाप लतपतिएका टालो लिएर तपाईँ निस्कनु भयो
त्यस पछाडि हरेक दिनका तपाईँको छुवाइले मलाई झस्काउन थाल्यो अङ्कल
त्यति बेला मैले कसैलाई पनि भनिन
हिजो पनि तपाईँ आउनु भयो
मेरो लागि फेरी उही चकलेट ल्याउनु भयो
मलाई काख राख्ने प्रयास गर्नु भयो
म अटेरी भएर
न तपाइको नजिक आए न तपाईँको चकलेट खाए
म आज आफै सँग झस्किन्छु अङ्कल
तपाईँ मेरो आफ्नै अङ्कल हो
नछुनुस् भन्दिन म,
गालामा छुनुस्, हात मा छुनुस्, टाउकोमा
जुन ठाउँमा छुँदा म आमालाई भन्न सकौँ अङ्कल
तर तपाइ यस्तो यस्तो ठाउँमा छुनु हुन्छ
म कसरी भन्नु, आमा अङ्कलले यहाँ यहाँ छुनु भयो
तपाईँ मेरो आफ्नै अङ्कल हो
माया नगर्नुस् भन्दिन म,
तर जसरी माया गर्नु हुन्छ, मैले कसरी आमालाई भन्नु
आमा अङ्कलले …
साँचै अङ्कल म डराउने भको छु
सबै तिर सबै आफ्नै अङ्कल जस्तो लाग्छ
सबै पुरुषहरूमा म तपाईँलाई देख्छु अङ्कल
र
सबलाई भनिरहन्छु,
मलाई छुनुस् अङ्कल तर अँठ्याएर होइन
मलाई माया गर्नुस् अङ्कल तर सुम्सुम्याएर होइन
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )