~पूर्ण ओली~
नितान्त एक्लैएक्लै छौँ
आँखा अलगअलग अड्काएर
खुट्टा पसारेर
घरि मुठ्ठी बटारेर घरि औँला फड्कारेर
हामी जन्माउने प्रतिष्पर्धामा छौँ ।
उनी तुना फुकाउँदै जान्छिन्
म पनि तुना फुकाउँदै जान्छु
छान्दैछिन् उनी नरमनरम भाग
म पनि छाम्दैछु कमलो मुटु
उनी काट्छिन् पकाउन, म काट्छु फकाउन,
उनले पखाल्दा म सँगाल्छु ।
उनी तेल हाल्छिन्, म रस हाल्छु ।
उनी तातिएको कराहीमा झ्वाइँए हाल्छिन्
म डष्टबिनमा फ्यात्त फाल्छु ।
उनी ओल्टाइपल्टाइ फर्काइरहन्छिन्
म आफ्नै लयमा जिउ हल्लाइरहन्छु
कमी पहिचान्दै उनी मर्मसला हाल्छिन्
म छिद्र खोज्नथाल्छु र
त्यसमा विम्ब, अलङ्कार हाल्छु ।
उनी एकपटक स्वाद चाखेर झिक्छिन् भाँडो
म चाखेर अघाउँदिन चोबिरहन्छु कलम
झिक्छु राख्छु, झिक्छु राख्छु,
भौतिक परिश्रम न्यून छ तथापि
म मात्रै यति विधि किन थाक्छु ?
उनले
तुनैतुनाले बाँधिएको एकमुठा सागबाट
कुनै प्रसव वेदनाबिना नै
जन्माइसकेकी छिन् स्वादिष्ट तरकारी
मैले
तुनैतुनाले गाँठो परेको एकमुठा शब्दहरुबाट
असह्य प्रसव वेदना खेप्दै
जन्माएको छु सिर्फ दुई धर्सा स्वादहिन कविता
म उनले पकाएको मीठो तरकारी चाख्छु र
आफ्नो कविता फलाक्छु ।
२०७५ भैरहवा
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )