कविता : म कमलरी

~तारा पराजुली~

आमाले-
जानेबेला भन्नुभएको थियो–
‘नानी भगवान् खुसी पार्नुपर्छ
भगवान् दाहिने भएमात्र उमेर दिन्छन्
आयु दिन्छन्, भाग्य दिन्छन्
र, दिन्छन् भरिला साँझ–बिहान ।’

चनौटोमा चन्दन घोटिएसरि
लामो समय घोटिनुभयो आमा
सधैं अरूका निधारमा सुहाएर टीका बनिरहनुभयो
आफ्नो सिउँदो छोडिएको थाहै पाउनुभएन
बरु, सुनाइरहनुभयो मलाई
‘नानी, भगवान् खुसी पार्नुपर्छ ।’

यस्तै–यस्तै आशिर्वादले पालिएर हुर्किएँ म
मेरा आदरणीय पुस्ताले यस्तै इतिहास घोकाए मलाई
दोहो¥याइ रहनु छ अब यही कथा मैले पनि
भोलि दरसन्तानलाई ।

देखाउनु छ आँखाबाट बगेका हरिया पोखरी
पढाउनु छ चुल्हो र अगेनाका कथा
बारीका डल्लाजस्तै उठेका हातका ठेला
थाप्लोमा पटुकाजस्तै बाँधिएका नाम्लोका डाम बोकेर
सुनाउनु छ खुसी भर्ने मन्त्रहरू
अनि चिनाउनु छ आफ्नो निम्छरो धरातल ।

हराएकी छु म
आफ्नैजस्ता लाग्ने मान्छेहरूबीच
केटाकेटीले खरानीमा औैंलाले कोरेका रेखाझैं
मधुरा छन् बाँकी सपना पनि
यही हो मेरो अभागी परिचय ।

यो दुनियाँमा सबैभन्दा चर्को घाम मेरै आङमा बज्रिएको छ
झरी र असिना मैले नै खपेकी छु
म नै हुँ सृष्टिको दैलो उघार्ने
भएजति अँध्यारो बढारेर
सिकुवा आँगन र बलेसीमा घाम फिँजाउने
अत्तर पखाल्छु
सेता लुगाका काला दाग घोटेर फाल्छु
आफूलाई झनै मैलो र दागी भेट्छु
मुखिया हुन दानापानीको साइनो छ
आजको दिन भोलिको उज्यालो तिनैसँग छ ।

दिउँसोभरि फरक–फरक युग्म
पार्टी, क्यासिनो, सिनेमा
जब साँझले आफूतिर आँखा सोझ्याउँछ
बाघ पसेको बस्तीझैं
त्रसित हुन्छे मभित्रकी कमलरी ।

बेला–बेला आउँछ बलात्कारी हुरी
ठोकिन्छ मेरै पहाडमा
थुप्रै पटक तरें आगोका खोलाहरू
पिल्सिएँ पटक–पटक
बेचयन छु, अशान्त छु
चुसिएर खोस्टो भएकी छु आफ्नै भगवान्सँग

महोदय,
आवाज मलिन भएका छन्
नङ्ग्रा खिइसके
भगवान् दाहिने बनाउनै सकिनँ
भन्नुहोस् न देख्नुभएको छ भने कतै
म मनकारी भगवान्को खोजीमा छु ।

०००

This entry was posted in कविता and tagged . Bookmark the permalink.

1 Response to कविता : म कमलरी

  1. yakina agadh says:

    सरल अनि कस्तो मिठो कविता

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.