~बसन्त श्रेष्ठ ‘क्षितिज’~
चकमन्न छ ठमेल ।
ढल्कन लागेको रातको अन्तिम निमेष मात्र बाँकी छ । घडीको छोटो सुइले बाह्र बजाउन पाँच मिनेट बाँकी रहेको संकेत गर्छ । घरबाट म नौ बजे नै निस्किएको हुँ । निस्कदा पनि मेरा गन्तव्यको खाका कोरिएका थिएनन् भने यो ठमेललाई भेट्टाउदा पनि । बसुन्धराबाट सिधै गल्को पाखाको ओरालोको भट्टीमा छिरे । घोर निरासा बोकेर निस्किएको तन/मनले बियर माग्यो । “टुबोर्ग होईन आइसबर्ग छैन्” मैले चाहना र रोजाइ दुबै पेश गरे । हरिया बोतलमा शितनको साथ म होटेलको एक कुनामा थन्किएको थिए । “सुर्य लाइट दुई खिल्ली” माग पूरा भो । चुरोटको धुवासंगै बियरको चुस्कीले बिस्तारै रात छिप्पिदै गयो । मात चड्दै थियो । बिस्तारै छेउ छाउको टेवल रित्तिदै गयो ।
“भाइ अब होटेल बन्द गर्ने बेला भो” आग्रह पूर्ण स्वरमा साहुनीले नजिकै आइ आफ्नो विवशता जारी गर्यो ।
पैसा तिरे । घडी हेरे । साढे दश बजेको थियो । फिर्ता पैसा बुझिलिए ।
ठमेल जाने उकालो समाते पछि म झनै अन्योलमा परे । ‘कता जाउ ?’ मनले मनसंगै सोध्यो । रात छिप्पिदै जादाँ आकाशमा जुनको उपस्थिति सानो देखिन्थ्यो । काला बादलहरुले सारा आकाश ढाकेका कारण पनि दाँयाबायाको चहलपहल प्रष्ट देखिदैन थियो । पुरानो पाटी जुन उकालैको मोडमा थियो । बिस्तारै म सडकबाट पाटी तर्फ हान्निए । जिर्ण पाटी,गल्लीका कुकुरहरुको बाक्लो उपस्थिति र ठाउँ ठाउँमा च्यातिएको सुकुल ।
नशाले ठाउँ-कुठाउँ,ओछ्यान,खाट,ओड्ने केही मागेन । एक सर्को निदाएछु ।
“निन्द्रामा तपाईं सधैं घुर्नु हुन्छ” अनामिकाको सधैंको म प्रतिको फिराद पत्रको नमुना हो यो । “अँ होला नचाहिने कुरा ?” मेरो हमेशा प्रतिवाद यहि थियो । एक दिन मोबाईलमा भिडियो सहित घुरेको प्रमाण पेश गरे पछि भने म हारे । अनामिका मेरी श्रीमती । संगै पढ्यौ । संगै हुर्कियौ । सामिप्यले प्रेमको बिज रोप्यो । प्रेम बिबाहमा रुपान्तरण भयो । समाजले मानेन म नेवार,उनी बाहुनी । परिवारको डरले काठमाडौं हान्नियौ । दुबै खुशी थियौ । सुखी थियौ यस अर्थमा हामी एक अर्कालाई असाध्य माया गर्थ्यौ । ‘अनु’ हाम्रो घरमा उसको आगमनसंगै बाबु बन्ने नौलो खुशी थपियो । बिस्तारै परिवारले पनि सम्बन्ध स्वीकार गर्यो । म पनि प्रतिष्ठित संस्थाको प्रमुख बने । धन/मान र प्रेम थपिदै थियो । मेरो व्यस्तताको कुनै सिमा थिएन् । बार्षिक प्रतिबेदनको तयारी,योजना,रणनिति,परियोजना,बैठक,तालिम,सेमिनार,गोष्ठी र बिदेश भम्रणले दैनिकी भरिएको थियो ।
“दिनभर घरमा बस्दा बस्दा म वाक्क भए,साथीहरु मिलेर बुटिक खोल्ने योजना गरेको हुन्न र बाबा ?”
“किन नहुनु ? मेरो सहमति पूर्ण रुपमा छ ।” मैले टाउको हल्लाउदै भने । रेड बाइनमा चिकेनको परिकार टेवलभरी राखिन । त्यो रात अबेरसम्म अनामिकाले आफ्नो योजना सुनाइन । मेरो छातीमा शिर राखेर निदाइन् । कालो/बाक्लो कपाल निक्कै बेर सुम्सुमाइ रहे ।
बिस्तारै उनी पनि व्यस्त हुन लागिन । हाम्रो आफ्नै दुनियाँ थियो । बस्नलाई त हामी एक घरमा बस्थ्यौ तर सम्बन्धमा बिस्तारै पर्खाल ठहरिदै थियो ।
“तिमी कहाँ छौ ?”
“बाबा म बुटिकमै छु ।” फोनको जवाफ यस्तो थियो ।
धेरै दिन पछि आज फुर्सदिलो शरदी दिनमा आमा-छोरीसंगै गोदावरी घुम्न जाने प्लान बनाए मनमनै ।
तीन बजे नै अफिसलाई बाइ बाइ गरे । सिधै गाडी लिएर बुटिक हान्निए । पहिलो तल्लामा रिसेप्स्निष्ठको ठम्याइ अनुसार म्याम चेङ्जिङ्ग रूममा रहेको संकेत गरिन । बिरालाको चालमा जुत्ता बाहिरै फुकालेर रूममा छिरे ।
………..
रन्थनिए । मुटु हातमै आयो । मन भरङ्ग भयो ।
अनामिका ह्रदय घातको शिकार भएर आफू बसेकी टेवलमा लडेकी रहेछिन् । घनघोर अन्धकार छायो मेरो जीवनमा । गंगालाल हस्पताल पुराइयो ।
“सरी बसन्तजी, हामीले तपाईंको श्रीमतीलाई बचाउन सकेनौ । दश मिनेट अगाडि ल्याइ पुर्याउन सकेको भए सायद…………” डाक्टरको जवाफले म मुडो झै उभिएको थिए । ठिङ्ग ।
सपनामा उनी आइन । सुस्तरी माया गरिन् । गालामा म्वाइ खाइन । असजिलो महसुस गरे । तन्द्राबाट व्युझिए । खैरो कुकुर अझै मेरो गाला चाट्दै रहेछ । नशाले छोडिसकेको थियो । घरमा रहेको छोरी सम्झे । हतार- हतार लम्किए । ‘अनु’ अझै सुतेकी रहिन छिन् । आमाको फोटो हेर्दै रोइरहेकी थिइन् । काम गर्ने बहिनि पनि निदाइछिन् ।
एल्बमको फोटोको अनामिका’को छायाँ अनु’मा उस्तै दुरुस्तै देखे । निधारमा म्वाइ खाँदै छोरीलाई भने “नानु अव यो रात दोहोरिने छैन् ।”
बसन्त कुमार श्रेष्ठ ‘क्षितिज’
मिति:०६८-०४-१०
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)