कविता : आवश्यकता नयाँ क्रान्तिको

~शरद महतारा~

आजभोलि यहाँ,
आगोले खरानीको कुरा गर्न थालेको छ
नदीले पोखरीले कुरा गर्न थालेको छ
शान्तिले मुर्दा शान्तिको कुरा गर्न थालेको छ
न्यायालयले राजनीतिको कुरा गर्न थालेको छ
त्यसैले होला,
राजनीति झुकेको छ
फेरि विदेशी पाउहरू सामु
आत्मसमर्पणले चुकेको छ
हिजो सम्झँदा,
राजनीति “नोस्टाल्जिक” भई बुर्कुसी मार्छ
वैशाख ११ सम्झेर आज खुशीको आँसु झार्छ
बालुवालाई बारूदमा बदल्ने नेपाली जनता छन्
तर किनकिन सधै फाइनलमा हार्छ
आफ्नै अगाडि भएको,
घण्टाघरले वर्षौंदेखि घडीको कुरा गरिरहेछ
धरहराले वर्षौंदेखि उचाईको कुरा गरिरहेछ
सबैले आ–आफ्नो धर्म पालना गर्दागर्दै
राजनीति धर्मछाडा बनेको छ
रोग र औषधि दुवै बेच्ने, नाफाखोरी बजार जस्तो
हो राजनीति बेश्याजस्तो, बहुरूपी बनेको छ
आज लोकतन्त्रका पहरेदार, लोकमान बनेका छन्
खिलराज न्याय, सत्ता दुवैमा विराजमान बनेका छन्
विदेशी खोपिया एजेण्टका आदेश कुर्नेहरू
स्वतन्त्र विवेक भएका ठान्ने राष्ट्रसेवक बनेका छन् ।
चक्रे मिलन र गणेश लामा राजनीति गर्न थाल्ने रे
परशुराम र जेपीले देश सेवामै हात हाल्ने रे
जनता हामी भोकै नांगै यही त हो पहिचान
हामीले फेरि सयौं सेता हात्ती पाल्ने रे
आफ्नै सपनाहरूको मलामी गएपछि
संविधानसभा अल्पायुमै विसर्जन भएपछि
सपना देख्न पनि साइत हेराउनुपर्ने
अभागी नेपालीको पुर्पुरो यस्तै भएपछि
अब चिनिसकियो बाघको छालाका स्यालहरूलाई
देशलाई भेंडाको मासुसरी बिला लगाउनेहरूलाई
त्यसैले जरूरी छ,
यहाँ एउटा नयाँ क्रान्तिको
हो आवश्यकता छ यहाँ
जनताले जित्ने क्रान्तिको

(स्रोत : हाँक विक्ली – वर्ष ३०, अंक २८ – May 29, 2013 – २०७० जेष्ठ १५ गते, बुधबार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.