~तिर्थराज अधिकारी~
छन्द : अनुष्टुप्
तिमी सगरमा फुल्दा फुल्छ्यौ सागरमा पनि
सहस्रौँ तालमा फेरि देखिन्छ्यौ रूपकी धनी ।
विम्ब यौटै तिमी किन्तु प्रतिविम्ब अहो कति !
इन्द्रेणीभित्रका रंग तिम्रा यी कति सन्तति !!
लाखौँ तारा तिमीलाई गर्दछन् अभिनन्दन
गुन बिर्सन को सक्छ हे जून ! तिमी नै भन !!
छैन सम्मानको भोक , गति चाल्छ्यौ शनै: शनै:
पक्षका पथमै हुन्छ्यौ यौवना अनि बालिकै !!
संसारभरिका भाषा भाव पोती सिँगार्दछन्
सारा संसारले आफ्ना तिमीमै दृष्टि पार्छन् !!
प्रीतमा गीत गुन्जन्छ्यौ , आस्थामा आरती तिमी
रंगमा रूप उत्रिन्छ्यौ कहाँ छैनौ तिमी तिमी ?
थुम्थुम्याई उता तारा शैलमाला हुँदै तल
बस्ती बस्ती गरी गस्ती पार्छ्यौ धर्ती समुज्ज्वल !!
औँसीको धारले रश्मि रेटिएनन् कहीँ कतै
हुरीका साथका मेघ बिलाए ढुन्मुनाउँदै !!
जुनेली ! सुकिलो रूप अझै साँच अनन्तमा
म हुँ नाटकको पात्र , पर्दा लाग्दछ अन्तमा !!
(स्रोत : “सपनामा हराएको बिपना” – कवितासंग्रह – २०६६ बाट साभार )