कविता : ख्याक

~श्रीपुरुष ढकाल~

केटाकेटी छँदा
मेरो बुबाले भन्ने गर्नुहुन्थ्यो-
बाबु !
ख्याक, सबै खराब हुँदैनन्
ख्याक, सबै डरलाग्दा मात्र हुँदैनन्
ख्याक, असल पनि हुन्छ
ख्याक, राम्रो पनि हुन्छ
झन् सेतो ख्याक त
गुणवान् हुन्छ
सेतो ख्याकले
मानवजातिको कल्याण गरेका
थुप्रै किंवदन्तीहरू छन्
खालि कालो ख्याक मात्र खराब हुन्छ
कालो ख्याक मात्र दुष्ट हुन्छ
त्यसैले कालो चस्मा लगाएर
ख्याकलाई हेर्नुहुँदैन
कालो चस्मा लगाउँदा
सेतो वस्तु पनि कालो नै देखिन्छ ।
हाम्रा अग्रजहरूले
ख्याकलाई गाली गर्दागर्दै
आफ्नो जीवन बिताए
हामी पनि
ख्याकलाई नै गाली गर्दै
समय गुजारी रहेछाँै
सायद भोलि हाम्रा सन्ततिहरूको
समय पनि
ख्याकलाई नै सराप्दैमा नष्ट हुनेछ ।
यसकारण तिमीले पनि
आफ्ना सन्ततिहरूलाई
गालीगलौजमा
समय बर्बाद नगर्न
सल्लाह दिनु ।
ख्याकलाई गाली गर्ने समय
वर्तमान र भविष्य निर्माणमा
खर्च गर्नु भन्नु
त्यसैमा सबैको कल्याण हुन्छ
त्यसैमा सबैको प्रगति हुन्छ ।

श्रीपुरूष ढकाल
सानेपा, ललितपूर

(स्रोत : कान्तिपुर – नेपाल साप्ताहिक अङ्क १३७)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.