~कमानसिंह विष्ट~
निरन्तर चल्छ समय
आउँछ जान्छ समय
पर्खंदैन कसैलाई
दिनपछि रात आउँछ
वर्तमान विगत भएर जान्छ
विगत इतिहास बनेर आउँछ
फर्केर हेर्दा इतिहासलाई
गोली चल्दाको त्यो क्षण
जनसागर उर्लंदाको त्यो क्षण
सपना झैं लाग्न सक्छ
तर त्यो विपना थियो
भन्नैपर्छ नलुकाएर इतिहासलाई
जनता साक्षी छन् नढाटेर बोल्नैपर्छ
देशको पीडा नलुकाएर खोल्नु पर्छ
एकपछि अर्को गर्दै ढले योद्धाहरू
आगोमा जल्न पुगे बस्तीहरू
आकासभरि बारुदको गन्ध छायो
बम पड्केको आवाज आयो
धर्तीभरि रगतको खोलो बग्यो
धर्ती तात्न खोज्यो
धर्ती फाट्न खोज्यो
सङ्ग्रामी यात्रा चल्यो
इतिहासको नयाँ अध्याय शुरु भयो
लाग्यो सबलाई नयाँ अनुभूति
लाग्यो सबलाई नयाँ नेपाल बन्छ
समयले काँचुली फेर्छ
नयाँ बिहानी सँगै
सदाबहार पालुवा झैं देशले मुहार फेर्छ
सपना साकार हुन्छन् सहीदका
सङ्घीय आकार बन्छन् देशको
आशा थियो
झुप्रा र महल फरक हुने
भरोसा थियो
दुनियाँले रूप बदल्छ
कोही भोको पेट रहने छैन
तर कस्तो दुर्भाग्य ¤
इतिहासको गतिरोध हुन थाल्दा
क्षितिज उज्यालो देखिए पनि
आँगनभरि बिहानको आभास छैन
ताराहरूका चमक छैन
सर्पको हिडाईमा हिंडिरहँदा
आफ्नै तन्त्र र मन्त्र हुँदा
भद्रगोल छ देश
संविधान र सुशासन छैन
भुस्याहा कुकुरहरूको लुछाचुंडी मै
कुर्सीको होडबाजी छ
अशान्ति र अराजकता चारैतिर
हस्तक्षेप छ चारैतिर
महङ्गी र भोकमरी जर्जर छ
पक्ष्ँघात हुँदा देशलाई
गतिहीन छ अग्रगामी यात्रा
काग कराउँदै छ पिना सुक्दै छ
आफ्नो स्वाभिमान र अस्तित्व
बचाउन अब
अझै महान सङ्कल्प गर्नुछ
अझै बनाउनु छ दरिला पाखुराहरू
बहादुर नेपालीहरूले अब
मातृभूमिलाई जोगाउनु छ
सगरमाथा झैं उच्च शीर बनाउन
हातेमालो गर्दै देश बनाउनु छ ।
(स्रोत : हाँक विक्ली – वर्ष ३२, अङ्क २ – Nov. 19, 2014 – २०७१ मंसिर ३ गते, बुधबार)