~गोविन्दप्रसाद आचार्य~
माटोसँग भन्दिन म मैले हारेको छु
लक्ष्यसँग भन्दिन म पात झरेको छु
गर्नेसँग भन्दिन म गर्नु गरेको छु
पापाचारको मिचाइले मोर्नु मेरो छु ।
पापाचारको शासनमा मसानहरु मस्ती गर्छन्
पापाचारका मसानहरु दिनरात मस्ती गर्छन्
मसानको पापी पना मौलाएर आयो
मौलाएको मात्र हो र बौलाएर आयो
गनाउने छुचुन्द्रालाई गणेश भन्नुपर्ने
दलका साँडा देशका काँडा हेरि बस्नु पर्ने
चैते हुरी हुरुरुारु धुलो उडाएर
मसानले फाल्न लागे देश बडारेर
मसानका सन्तानले जतै चुसेका छन्
उदै गति उदैमति देश लगेका छन्
जतापनि परेको छ पापाचारका छायाँ
पापी मनका मसानलाई वके माटोको माया
मानिसको बस्ने थलो हैन कि झै लाग्छ
बस्ने थलो भए भन मसान कैले भाग्छ
पाठशालाका पुस्तकमा मसानका दाँत
अधिकारा सिद्रा दिने विरालाका हात
पाठशालामा मसानले चोर्न सिकाउँछन्
घर झगडामा रिसाएर पाठशाला पोल्छन्
मसानको गुनासो छ, याद नपाएको
पाठशाला मसानको भर्तिकेन्द्र भाको
पाठशालामा मसानका सेना डुलेका छन्
कर्म गर्ने जाँगरिला धुरु धुरु रुन्छन्
दिने भन्दा माग्ने ठूला मसान शासनमा
कृपा खाने नातेदार बसे आसनमा
मसानले न्याय देला सुख्खदेला नभन्नु है
मसानमा दील हुन्न मेलको आशा नगर्नु है
भर परेर बस्न हुन्न यसले न्याय दिन्न
मानवता मसानको मगजमा हुन्न
म त भन्छु हुनुपर्छ मान्छे बस्ने थाले
मसानको शासनमा कसको हुन्छ भलो
भलो हुन्छ आफन्तको न्यायलाई नर्क
पापाचारको पोखरीमा मलाई के को हर्क
मसानका आफन्तलाई आयो लोकतन्त्र
पाजीहरु काजी हुने यही हो गणतन्त्र
न्याय दिन्न अदालतले अगुल्टोले हान
पापी मनको लोकतान्त्रिक आयो भन
सत्य कसम पापाचारका दाँत भाँच्ने मन छ ।
दाँत नभाँची हुँदै हुन्न यसले देश खान्छ
देश खाने असतिले मलाई पनि खान्छ
मलाई खाने पापाचारले संसारलाई खान्छ ।
मसानले पापाचारलाई पाली राखेका छन् ।
मसानका लिखा जुम्रा नेता बनेका छन्
यति मात्र कहाँ हो र हाकिम बनेका छन्
अल्छि मसान काम नगरी थाकिम् भनेका छन्
बसिसक्नु छैन यहाँ जता हे¥यो पापी
कर्म गर्नेहरुलाई धरापमा थापी
दलभित्र दलालका नाइकेहरु दरा
तिनै दरा दलालले काटे देशका जरा
जता पनि मसानका मुख अघि सरे
जाने जति नगर्ने ाम सबै गरीसके
कस्को भागमा कति प¥यो घिऊ, विऊ, जिऊ
लुछाचुंडी पापाचार लोकतन्त्रको विऊ
हिजो भन्दा भिन्न के छ झनै छाडातन्त्र
सके जति लुड खाउ लोकतन्त्रको मन्त्र
कर्म गर्नेहरुलाई कतै ठाउँ छैन
सिद्राहरु गनाएर बसिखानु छैन ।
मसानको नीति थिति मन दुखेर आउँछ
देशले गुहार मागेको छ कसले पार लाउँछ
कति बस्ने मसानको चर्को दमनमा
लाली गुराँस फुल्ला जस्तो छैन बसन्तमा
घामका किरण छन् कतै आशा गरौं लाग्ला
पापाचारी मसानको शासन धुलो पर्ला
डराएर भाग्नलाई मन छैन मेरो
बसौं भने जता पनि मसानको घेरो
हाम्रो सफा आकाशमा मसानको बादल
बादल लाउन बसेका छन् पापाचारका पागल
मेरो मान्छे तेस्रो मान्छे पापाचारको राजमा
मसानले लुगा फाले, छैनन् कोही लाजमा
बदल्नलाई को आउने हो, लौन छिटो आऊ
दुख्नुसम्म दुखेको छ मसान शासन घाउ
सहनुले सिमा नाघ्यो दुखेर मन रुन्छ
मसानले टोकेको देश कैले निको हुन्छ
मसामनका नातेदार दलीमली गर्ने
कर्म गर्ने जाँगरका विदेशतिर लाग्ने
बसिसक्नु नभएर लागे विदेशमा
जतापनि पापाचारको ग्रहण यो देशमा
मसानले मौका पाए काम गर्ने ठाउँमा
पापाचारको किला ठोक्यो हाम्रो दिमागमा
मसानका मीठा कुरा अब नसुनेर
अहिलेसम्म यो हालत मसान नचिनेर
लालीगुराँस फुल्नुपर्छ हाम्रो बसन्तमा
पापी मसान राख्न हुन्न हाम्रो जगतमा
पापाचारदेखि सक्नु नभएर हारे,
मन दुखेर लाग्छ कैले पात जस्तै झरे ।
(स्रोत : हाँक विक्ली – वर्ष ३०, अंक २३ – April 24, 2013 – २०७० बैशाख ११ गते, बुधबार)