~मनु ब्राजाकी~
बाँच्न भनी आएपछि मर्न कहाँ पाइन्छ र !
घाट कुर्नेले त खोला तर्न कहाँ पाइन्छ र !
मदिरा यो जिन्दगीको बाँड्ने जिम्मा पाएपछि
आफ्नोमात्र खाली प्याला भर्न कहाँ पाइन्छ र !
जीवनभरि बटुलेर सजाएर राखेको यो
मनको बैठक कोठालाई छर्न कहाँ पाइन्छ र !
तलकालाई बिर्सिएर माथिमाथि उक्लेपछि
माथिकालाई छोडी तल झर्न कहाँ पाइन्छ र !
फूलमाला चढाएर दैवलाई ढाँटे जस्तै
मनुसँग अब यसो गर्न कहाँ पाइन्छ र !
-सैँबु, भैँसेपाटी, ललितपुर