~दीपशीखा~
मेरो ठाँउ मन नपरे तिमी नआए हुन्छ
मेरो गाँउ निको नलागे तिमी गए हुन्छ
राम्रो-नराम्रो त भन्न पाउला तिमीले
जान्ने पल्टेर अर्ति नसुनाए हुन्छ
मेरो गितको स्वर तिम्र्रो जस्तो हुदैन
साखिलो पल्टेर यस्तो गाउ नभने हुन्छ
मेरो माटो मलाई त चौपट्ट बास आउँछ
गन्हाए मेरो देश छोडेर तिमी गए हुन्छ !
डुल तिमी अतिथी हौ डुल्न पाउँछौ
घुम तिमी मानिय हौ घुम्न पाउँछौ
‘अतिथी देव भव’ को खुल्ला संसारमा
नाच बेस्सरी तिमी नाच्न सक्छौ
खुल्ला हृदयको नेपाली हो यो मन
हाँस ! बेस्मारी तिमी हाँस्न पाउँछौ
तर डुल्दा मेरो श्री मा आखा नगाड
घुम्दा मेरो पेटिमा आची नगर
डिल मुन्तिर चर्पी छ, भनेर देखाउँदा
हामी मन पर्दैन भने तिमी र तिम्रालाई
तिमी र तिम्रो, हामीलाई मन नपर्न सक्छ
नामञ्जुर र अस्वीकार भए तिमीलाई
चुपचाप उतै आफ्नै बाटो तताए हुन्छ !
सधियार भनेर हामीले तिमीलाई
साँध मिच्न दिनै पर्छ भन्ने छैन
छिमेकी भनेर हामीले तिमीलाई
खैर ! प्यास मेट्न पानी दिन सकौंला
गाग्रै दाईजो दिनु पर्छ भन्ने छैन
अथिती सत्कारको हाजिरामा
छात्ती चिरेर मुटु माग्छौ तिमी
मूटू त कसरि दिउँ तिमिलाई
तिमीले मागे जति दिनै पर्छ भन्ने छैन !
तिमीले चाहेजति पाउनै पर्छ भन्ने छैन ! !
मलाई नसोधी हाम्रो दैलो काटेछाै
सहेरै तिमीलाई एक पटक माफ थ्यो
मेरो गैर हाजिरीमा हाम्रो आगन टेकेछौ
खपेरै तिमीलाई एक रात बास दियो
उदारतालाई कमजोरी ठानेर तिमीले
मेरो चुल्होको मुल थाम काट्न थालेपछि
दयालाई नामर्दी ठानेर तिमीले
मेरो घरको धुरी ढाल्न थालेपछि
तिमीलाई सत्कार गनै पर्छ भन्ने छैन
मेरो घरमा मेरो आफ्नै आदेश
अब तिमीलाई हामीले पाहुना भन्नै पर्छ भन्ने रहेन !
शकुनी पाहुना अबदेखि मेरो गाउँ नआए हुन्छ !!
सगुन सम्झेर मेरो देशको पानी नखाए हुन्छ !!!
बहुलाउला र एकपटक अभावमाथी टेकेर
बिरताको पौरख गाउला साँधहरूमा
बलियो सम्झेर हामी भन्दा आफैंलाई
एक पटक डिल चढेर बडो फुर्ति लाउला
ब्ारू मञ्जुर छ तिम्रो दानवता साँधहरूमा
तिमीले पनि नालापानी सम्झे हुन्छ !
बरू स्वीर्काय छ तिम्रो चेतावनी हामीलाई
बिस्र्यौ की क्या हो हाम्रा “बलभद्रहरू” सम्झेहुन्छ !
अ सौहार्दता पुगेजस्तो छ तिमीहरूलाई
साच्चै हो भने लड्ने तयारी गरे हुन्छ ! !
साच्चै हो भने लड्ने तयारी गरे हुन्छ ! ! !
-जुलाई 20, 2010
(स्रोत : रचनाकारको ब्लगबाट सभार)