~प्रह्लाद पोख्रेल~
दशैं आयो भन्छन् तर पनि दशा छन् दस दिशा!
उज्यालो खोजेको तदपि किन गन्तव्य छ निशा!
निशाको यो कालो कलुषितपना धुन्छ कसले?
अँधेरीमै हामी कति दिन बसौंला सकसले??
अनेकौं इच्छा छन् रहर सपना छन् कतिकति
अकस्मात के भो के कठिनतम बन्दैछ नियति
व्यथाका बाढीमा बलसित बगाई सहमति!
हिंडी बाङ्गो बाटो कति समय झोल्ने अझ खति?
चलेको हो कस्तो विकटतम घाती गतिविधि!
निहत्था मान्छेको मरण किन सस्तो यतिविधि!!
हरायो मान्छेको किन हृदय खै संयम कता?
कता भाग्यो हाम्रो अपरिमित राम्रो मनुजता??
दशैंले मान्छेको मन र मुटु पार्थ्यो सुखमय
दशैं हुन्थ्यो साँच्चै मधुमिलन आनन्द समय
सुखी बन्ने आशीर्वचन अब सारा किन भुली?
दशैं के आएको कहरसित संकष्ट बटुली?
हिमाली हावाको लहरसित खेल्दै तहतह
तराईमा झुल्ने अमृतमय बाली लहलह
पहाडी पाखाको शरदमय सौन्दर्य छ कता?
दशैं ल्याओस् पक्कै प्रकृतिमय नाता अमरता।
(स्रोत : हिमालखबर १-१४ कात्तिक २०७२)