~दलबहादुर विश्वकर्मा~
रातको ९ बज्न थालेको थियो । दुई जना इन्स्पेक्टर सहित ७÷८ जना पुलिसहरू सहित केही सिभिल लुगा लगाउँका मान्छेहरूसँग राखेर एक जना चन्द्रबहादुर भन्ने इन्स्पेक्टरले एक जना पुलिसलाई आदेश दियो– ‘ए साले, यिनीहरूलाई चौरमा लगेर राउण्ड किक र ब्याक किक र अगडिबाट पञ्च हान् ¤ पुलिसले सलाम ठोक्दै ‘हस् साब’ भन्यो । उसले आदेश पालना गर्दै आफ्नो काम सुरु गर्यो । मैले दह्रो हिम्मत बटुले । शरीरलाई अँठिलो पारेर त्यो प्रहारलाई सहन सक्ने हिम्मत बटुलेँ । उसले प्रहार गर्दै गयो । म चुपचाप सामना गरिरहेँ । म सँग माक्र्सवादी तागत, रक्तिमले पैदा गरेको हिम्मत र विभिन्न क्रान्तिकारीहरूले भोगेका कठिन यातनाको शिक्षा थियो । त्यसैले त्यो बेलासम्म खासै अपठ्यारो लागेन ।
११ बजेतिर होला, “हरियो मण्डी ले ¤” भनेर आदेश गर्यो । पुलिसले हरियो मण्डी ल्यायो र सलाम ठोकेर बुझायो । हामीलाई दुवै हात पछाडि फर्काएर बाँधेको थियो । माथिबाट हरियो ब्लाङ्केटले ढाकेर बाहिरबाट रसीले बाध्यो । त्यसपछि छडीले पिट्न सुरु गर्यो । त्यस बेलासम्म मुखबाट केही आवाज नआएपछि “साले कडा रहेछ” भन्दै “ए साले, तेरो बाउले अझै भेटेन । अर्काे स्टेप सुरु गर ¤” भन्यो । ७÷८ जना पुलिस भएर मण्डीले बाँधेको अवस्थामा गुल्मको ढिकमा लगेर मलाई सोध्यो– “ए साले ¤ तेरा नेता कहाँ कहाँ छन् ? भन्ने भए भन्, नभए यहीँबाट तल खोलामा फालिदिन्छु ।” तलपट्टी काठे खोला निर्मल पानीसँग बग्दै थियो । पानीको आवाजमा कुनै खोट थिएन । दिनभर वजारका मान्छेले सरसफाइ गरेर दुर्गन्ध र फोहोर भए पनि रातको ११ बजे पानी सफा थियो । हाम्रो मनमा कुनै प्रकारको गल्ति नगरे पनि सजाय पाइरहँदा बदलाको भावनाका आँकुरा मनमा पलाउन सुरु भएको थियो । यो क्रम क्रमशः बढ्दै गयो । डी.एस.पी. को अफिसमा लगेर ४ वटा छडी भाँचेपछि रातको १२ बजे जिल्ला प्रहरी कार्यालयमा लगियो । जिल्ला प्रहरी कार्यालयमा पुग्दा थुनुवा कोठाको बाहिर ड्युटीमा बसेको पुलिस सतर्क हँुदै खुट्टा बजायो र राइफलमाथि उठाउँदै तल झर्यो । “ढोका खोल” डी.एस.पी. ले आदेश दियो । ढोका खोलेपछि पनि दुवै हात रसीले बाँधेको थियो । हामीलाई “भित्र जा साले ¤ ” भन्दै छडीले पर पुराइदियो । भित्र सुतिरहेका मान्छेमाथि हामी पर्यौँ ।
भित्र सबैको अनुहार हेर्दा भीमबहादुर थापा, प्रेम थापा, राम चापागाई, कपिल मल्ल,जीतबहादुर थापा, चित्रबहादुर, के.पी. र नारायण हमाल रहेछन् । त्यो कोठामा बस्नसम्म नअटाउने साथीहरू दोहोरो खुट्टा आ–आफ्नो छातीमा राखेर सुतेका थिए । हामीलाई एउटा कम्बल दिए । त्यो कम्बल ओढ्ने कसरी ? हात पछाडि फर्काएर रसीले बाधेको छ । मेरो शरीरमा हाफ भेष्ट र पाइन्ट मात्र थियो । ड्युटीमा बसेको पुलिसले कोठाको प्वालबाट राइफलको सङ्गिन भित्र पसारेर साले घर्सक्क आवाज निकालिस् भने गोली ठोक्दिन्छु भनेर बसेको थियो । मान्छेको शरीर न हो, जति अप्ठ्यारो परे पनि तिर्खा, भोक, दुखाइ र पीडा त भैहाल्छ ।
तिर्खा लाग्छ, पानी खाने केही छैन । पिसाव लाग्छ । राती निद्रा लागेछ । साथीको छातीमाथि टाउको राखेर एक झप्का निदाएछु । साथी कोल्टो फर्कदासाथ निद्रा खुल्यो । जाडो भयो । शरीरमा कपडा अडिन्न । आवाज निकाले, पुलिसको कुटाइ खानु पर्छ । जनतन जाडो छेक्नु पर्यो भनेर दातले मण्डी तानेर ओड्न खोज्दा अडिन्न । त्यस्तै गर्दा गर्दै रात बित्यो ।
आठ गते बिहान बल्ल पुलिसको ठूलो निगरानीमा दिसा पिसाब सकेर भर्खरै आधा गिलास चिया खाँदै थियौँ कि एक जना पुलिसले “राम पौडेल र दलबहादुर भन्ने को हो ? उठ्” भन्यो । हात सुन्निएर ठूलो भएको थियो । रसीले बाँधिराखेकाले कसिएको रहेछ । रसी खोलेर हत्कडी लगाउँपछि केही शितलो भयो । नाम बोलाएपछि हामीलाई फेरि गुल्ममा लगियो । बिहान ८ बजेदेखि १ घण्टा पिट्ने । ५ मिनट रेस्ट । दिनभरि बासको भाटा, कालो लटठ्ीले दिनभर शरीरको मुख्य भाग छानी छानी पिट्ने काम भयो । एक घण्टा नरोकिकन पिट्यो । ५ मिनेट सोध्छ ः ‘मोहनविक्रम कहाँ छ ? चित्रबहादुर, दिनानाथ, लीला थापा, लीला राना, राजु थापा कहाँ छन् ? भन् साले’ ‘मलाई थाहा छैन’भन्दा फेरि एक घण्टा पिट्छ । फेरी ५ मिनट सोध्छ ।
दिनको करिब ३ बजेको थियो होला, बाहिर ठूलो हुरी बतास र पानी परेको थियो । मेरो शरीरमा हाफ भेष्ट र पाइन्ट मात्र थियो । झ्याल सबै खुल्ला थियो । पानीको बाछिटो भित्र पर्दथ्यो । त्यत्तिकैमा एक जना पुलिसले भुइमा पानी पोखिदियो र त्यसैमा “बस साले” भन्यो । म बसेँ । भित्तामा अडेस लगाउँर बसँे । “साले, ढाड सोझो पार” भन्यो । अर्काे पुलिस आएर फलामको साङ्लोले दुई वटा हात तेस्रो पारेर झ्यालको रडमा बाँध्यो । ढाड दुखेर अलिकति साले हल्ला गर्छस् भनेर बुटले तिघ्रामा हान्यो । अर्काे हवलदारले बुट पालिस गर्दै थियो । उसले पनि बुटले टाउकोमा हान्यो । यसरी हिजोदेखि पिटेर शरीर चलाउन नसक्ने भएको छ । शरीरमा तातो लुगा छैन । बाहिर पानी परेको छ । झ्यालबाट हावा र पानीको छिटो भित्र परेको छ । बस्ने ठाउँमा चिसो पानी खनाएको छ । खपिनसक्नु भएर चार हात खुट्टा बाधेर तङग्रेको बेलामा हल्का निदाएछु । एक जना पुलिस आएर बुट सहितको लट्ठीले हान्यो । अर्काे पुलिसले केही दया प्रकट गर्दे “ए साले, नहान् न । खाएकोभन्दा चाटेको मिठो । सुतेकोभन्दा उँघेको मिठो । ऊ पनि मान्छे हो । जे गर्छन्, ठूलावडाले गर्छन् । हामी त अर्डरमा चल्ने हो । विचरा एक छिन बस्न दे न ।” मेरो मनमा लाग्यो, कोही पुुलिससँग पनि मानवीयता हँुदो रहेछ । दया र भावना हँुदो रहेछ । मन धमिलो भयो तर प्रकट गर्ने, बोल्ने कुनै उपाय थिएन । एक छिनपछि फेरि आदेश आयो ः “ए त्यो सालेलाई यता ले ¤ दुई जनाले समातेर ।” डी.एस.पी. ले भन्यो– “ए दलबहादुर, त्यो दिन के के भयो ? सबै लेख ।” राम पौडेल र मलाई छुट्टा छुट्टै राखेर लेख्न लगायो । मैले त्यहाँ भएको देखेको कुरा सबै लेखेर दिएँ । फेरि बोलायो र भन्यो ः “हेर दलबहादुर, तिमी राम्रो लेख्दा रहेछौ । भन तिम्रा नेताहरू कहाँ छन् ? भन् तिमी जस्तो दलितको मान्छे यो संसारमा सरकारी काम पाउन गाह्रो छ । भविष्य बनाउँछौँ भने नेता भएको ठाउँ बताइदेउ भन्यो ।
मैले भने ः “सर, मलाई केही थाहा छैन । उनीहरू कता छन् ? कहाँ छन् ? म त आफ्नै काम गर्छु ।”
“साले ढाँट्छस् ?” एक थप्पड हान्यो ।
“सर, विश्वास गर्नु होस् । म कहिल्यै झुट बोल्दिनँ । सत्य भन्छु । मलाई केही थाह छैन । ढाँट्ने मेरो नैतिकता हैन ।” यति शब्द बोल्दा ममाथि चार जना खनिए ।
“साले आदर्शका कुरा गर्छस् । ठोक सालेलाई । पुगेन अझ” एक्कासी चिलले चल्ला झम्टे झैँ सबै मिलेर हान्न थाले । म पल्टेछु । राम पौडेललाई उता के गरेको छ ? मलाई थाहा छैन । हान्दा हान्दै सोध्यो ः
“लीला थापा, लीला राना कता छन् ?”
‘थाहा छैन’ भन्दै थिए । आँखामा पोल्ने पदार्थ राख्यो । त्यसको ग्याँसले सास लिन गाह्रो भयो । म स्याँ स्याँ गर्दै बोल्न थालेपछि मलाई छोडिदियो । त्यत्तिकै एक जना ड्युटीमा भएको सिपाहीले भन्यो ः
“दाइ, तपाईले यति यातना सहनुभन्दा भएको कुरा भन्दिनुस् । किन दुःख पाउनु हन्छ ?”
मैले भने ः “यस्तै कुरा तपाईलाई मैले सोधेँ भने के भन्नु हुन्छ ? मलाई त केही थाहा छैन । के भन्ने ? म पनि त्यस्तै हो । थाहा नभएकोभन्दा ढाँटेको भन्छ ? नभएको कसरी भन्ने ?”
उनीहरू बोलेनन् । अर्काे एक जना दलबहादुर घर्ती भन्ने पुलिस आयो । मेरो आडमा बस्यो र सोध्यो ः “किन सबै कुरा नभनेको दाइ ? भन्नु होस् ।”
मैले पहिलाको पुलिसलाई जस्तै जवाफ दिएँ । ऊ पनि चुपचाप बस्यो । एक छिनपछि मलाई सोध्यो ः “दाइ, खैनी खानु हुन्छ ?”
मैले साथी जस्तो लाग्यो र ’अँ’ भनेँ । मेरो दुवै हात बाँधिएको थियो । उसले आफ्नो हातले खैनी निकालेर ओठ समातेर मेरो ओठमा खैनी राखिदियो । त्यो पुलिस पनि प्यारो लाग्यो । तर जस्तो कुरा गरे पनि कसैको विश्वास लागेन । किनभने, यी सबै क्रियाकलाप उनीहरूको पूरा षडयन्त्र मात्र हो भन्ने लाग्यो । त्यत्तिकैमा फेरि आदेश आयो ः “त्यो सालेलाई यता ले ¤” मलाई दुई जनाले समातेर लगे ।
साँझको ७ बज्न लागेको थियो होला । डी.एस.पी. ले सोध्यो ः “भन्, दिनानाथ, चित्रबहादुर, मोहनविक्रम, लीला राना, लीला थापा कता छन् ? आज राजु थापाको मावली घर गैँडाकोटमा पुलिसले छापा मार्दैछ । नेता भएको ठाउँ बताइस् भने तँलाई छाडिदिन्छौँ ।”
मैले भनेँ ः “सर, मलाई थाहा नभएको कुरामा किन बढी सोध्नु मात्र हुन्छ । थाहा भएको त बताइसकेँ । मलाई जे गर्न चाहनु हुन्छ, गर्नु होस् । मलाई थाहा नभएको कुरा बनाएर भन्न सक्दिनँ ।”
“ए साले, तैले मलाई चुनौती दिएको ¤ सालेलाई राम्रोसँग मालिस गर्छस् ?”
तीन जना पुलिस ममाथि खनिए । एक जना बाँसको पातलो भाटा लिएर, एक जना कालो लट्ठी लिएर, एक जना दरोसँग समात्ने भाटाले मासु भएको ठाउँमा र लट्ठीले पछाडिको फिलामा पिट्दा पिट्दै म उभिन नसक्ने गरी ढलेँ । ढल्नुभन्दा अगाडि दिसा आफै खसेछ । कोठा सबै गन्हाएपछि मेरो शरीरले आराम पायो । केही समयपछि बल्ल बल्ल उठेर दिसा लाग्यो भनँे पुलिसले लछार्दै हान्दै चर्पीमा लग्यो । दिसा लागे जस्तो हन्छ तर बस्न मिल्दैन । पैतलामा पिट्छ । १० मिनेट पिट्यो भने ३ मिनेट जम्प गर्नु पर्छ । जम्प गर्दा मिलाएर गर्यौ भने “साले राम्रोसँग मिलाएर गर । यहाँ तालिम लिन आएको होस्” भनेर उल्टै पिटाइ खाइन्छ । नमिलाएर गर्यौँ भने फेरि ढिला गरिस् भन्छ । जसो गरे पनि केही उपाय नलाग्ने शरीर सिथिल बनिसक्यो । मानसिक र शारिरीक रूपमा सबै कमजोर भयो । पिटाइ पनि खप्न नसकिने, शरीर उभिन नसक्ने । कोही बोलेको पनि राम्रोसँग सुन्न नसक्ने अवस्था भयो ।
समया आफ्नो गतिमा अगाडि बढिरहेको छ । मानिसहरू आ–आफ्ना काममा व्यस्त छन् । पुलिसको फन्दामा पर्यो, एउटा गाउँको इमानदार गरिबको छोरा । बाबुको एक्लो छोरा, आमा नभएको टुहुरो छोरा, कलिलो उमेरमा आमाको मृत्यृपछि आमाको अनुरोधमा विवाह गरेर कलिलो ओठ निचोरे दूध आउने बेलामा घरको नानी बनेको छ । उसको वाल्यकाल कति रमाइलोसँग बित्यो । आमाको मुटुको टुक्रा, यस्तो यातना यस्तो सास्ती शायद आमा भएको भए पुलिसको हातमा पर्नासाथ आमा बेहोस भएर ढल्थिन होला । मनमा अनेक कुरा खेल्दै थिए । चिसो भुइँमा पल्टिरहेका बेला मैले यस्तै सोचेँ । त्यसपछि त्रास मात्र भयो । सानो आवाज ठूलो लाग्न थाल्यो । बर्दी पोलिएको गन्ध मन परेन । अझसम्म पनि मन पर्दैन । तर त्यसरी पुलिसको गन्ध मेरा लागि डुङडुङी गन्हाउन थाल्यो । रात–दिनको पैतालाको पिटाइ र शरीरको विभिन्न भागको खलबली भएछ । मानसिक रूपमा पनि ठूलो असर भयो । छिट्टै रिस उठ्ने, झर्किने, टोलाउने, एकोहोरिने, खुट्टा झमझमाउने, हात–खुट्टा पोल्ने—सबै क्रमशः शारिरिक समस्या देखा परे । यसको प्रभाव शरीरभरि फैलिएको छ ।
मनमा जुन प्रकारको भावना र संवेदना थियो, त्यो कता कता गुम भए जस्तो । रिस मात्र बढी । कोलाहल पनि मन नपर्ने । बढी शान्त र एकान्त भयो भने खट्पटी छुट्ने—यो खालको एउटा तनाव पैदा भयो । शरीरको धेरै भाग कमजोर भएछ । मस्तिस्कमा असर परेछ । पैतालाको नसाको सम्बन्ध मस्तिस्कमा असर पर्दाे रहेछ । त्यसैले होला, मानसिक रूपमा बढी चिडचिडाहट मात्र भयो ।
रातभरि शरीर कर्करी दुख्यो । खुट्टा भतभती पोल्यो । सुत्ने ठाउँमा बस्नसम्म मिल्दैन । खुट्टा पसार्यो भने साथीको मुख वा छातीमा पर्छ । हातमा हत्कडी छ । त्यो फलामको विवेकहीन धातु कहिल्यै तात्दैन शरीरभरि । अप्ठ्यारो कानुनका नियम । कार्यरत र निर्ममतापूर्वक बर्सेका चोटले छाला र मासुको सम्बन्धलाई टाढा बनाएको छ । अर्थहीन प्रश्न, बेसुरको अनुसन्धानको नाउँमा इमानदार र सत्य बोलीलाई आक्रोसको कोर्रासँग तृप्ति लिएका छन् । कागजबद्ध राज्य सम्पत्तिमा भत्ता खाएर गरिबको विश्वास र इमानदारितामाथि सङ्गिन र झिर रोपेर घाइते बनाउने राज्यले दिएको तालीम । यस्तै मनमा उर्लेका तरङ् हरूले रात बितेको थाहा भएन । बिहान पालैपालो चर्पीमा गयौँ । दिशापिसाब गरेर हातमुख धुने अनुमति थिएन । गन्हाउने साँघुरो कोठामा बस्यौँ । भर्खरै होटलबाट चिया मगाएर दुई सुर्पी मात्र के खाएका थियौँ, फेरि नाम आयो ः “दलबहादुर र राम पौडेल उठ् ।” उसको अर्डरमा उठ्ने बानी परिसकेको थियो ।
हत्कडी समाएर ७÷८ जना पुलिसले बजारको छेउको बाटो तल गुल्ममा लगे । पूजाको भजन माइकमा चर्काे चर्काे आवाजमा लगाएको थियो । एउटा चाक्लो हलमा लगियो । हत्कडी खोल्न लगायो । हामीसँग आएको एक जना पुलिस बिरामी भएको बहानामा हतियार अर्काेलाई बुझाएर सुत्यो । पछि पुलिसले आपसमा कुरा गर्दा थाहा भयो । त्यो पुलिस हामीलाई पिट्नु पर्छ भनेर तर्कन खोजेको रहेछ । इन्स्पेक्टर, डी.एस.पी., एस.एस.पी. आएर एक जना दारासिंह जस्तो हवल्दारलाई “यसलाई मालिस गर” भन्यो । त्यसले नाईले मालिस गरे जस्तो गरी पिठ्युँ र काँधमा राम्रोसँग अँठ्यायो र भन्यो ः “ठिकै रहेछ ।” उसले कान र गर्दनको बीचमा पर्ने गरी थपड हान्यो । म ढल्थेँ । यही क्रम दोहोरिरह्यो । हवल्दारलाई लगाएर टाउकेहरू बाहिर गए ।
कहिँबाट निस्केको जड्या जस्तै गन्हाउँदै आयो । तीन जना पुलिस रक्सीले हल्का माते जस्तो देखिन्थ्यो । रक्सीको गन्ध आएको थियो । उसले मलाई भन्यो ः “अब नास्ता खान्छस् ।” मैले केही बुझिनँ । एक्कासी एस.एस.पी. ले हत्कडीमा समातेर बुटसितको दुई लात्ती हान्यो । मेरो शरीर हलुका र फुर्तिलो भयो । उसले हातमा हत्कडीसँग समातेर मलाई आपूmतिर तान्यो । म उसको अगाडि पुगेँ । उसले मलाई समातेर भुइँमा पल्टायो । मैले अप्ठ्यारो लागेर पछाडि हात फर्काएर हत्कडी लगाएको थियो । हातको कुहिनाले धकेलेँ ऊ तल पर्यो । म उसकोमाथि परेँ । मलाई असाध्यै रिस उठेको थियो । हत्कडी उसको कोखामा परेको थियो । मज्जासँग हातले पेलेँ । उ अत्तासियो । दुई जना पुलिसलाई बोलाएर मलाई समातेर उठाउन लगायो । मैले सोचेँ ः जे पर्ला, पर्ला । कसिन्छु । कती सास्ती खप्ने ? जे होला होला । तर अवस्था त्यस्तो रहेन । उसले पुलिसलाई मेरो खुट्टा बाध्न लगायो । ऊ आफ्नै रिसले चुर भएर खुट्टामा बाँधेको रसी तान्यो । म भुइँमा ढलेँ । दुई जना पुलिसलाई आदेश दियो । खुट्टा ठाडो बनाई मेरो खुट्टा ठाडो बनायो । एक जना पुलिसलाई समात्न लगायो र खाटमाथि उभिन लगायो । मलाई भुइँमा उत्तानो पारेर दुवै खट्टामाथि ठडाएर दुई जना पुलिसलाई समात्न लगायो । त्यो शर्ट खोलेको पुलिसले बाँसको चेप्टो भाटाले पिटिरह्यो । यसरी पिटिरह्यो, जस्तो कि आरनमा तताएको फलाम तातैमा पिट्न हतार हतार भएको छ । ५÷६ वटा बाँसको चेप्टो भाटा भाँचिएपछि एक छिन पिटाइ रोकियो । एक जना असईले भन्यो ः “ए साले, यसलाई ब्लेडले चिरेर नुनचुक लगाई राजीव गान्धीको अपराधीलाई जस्तै गराई ।” त्यस बेला मलाई साह«ै चिन्ता लाग्यो । अब शरीर सग्लो नरहने भयो । जताततै चिरिने भयो । कति समयसम्म यस्तो शरीरसित बाँच्न सकिएला र ?
स्थिति सारै नै भयावह बन्दै गयो । मनमा ठूलो त्रास पैदा भयो । लाग्यो, अब शायद सजिलोसँग मर्न पनि नपाइने भयो । शरीर त छिया छिया हुने नै भयो । शायद प्राण पनि यसैमा जान्छ होला । एस.एस.पी. ले पुलिसलाई च्यातिएको बनियान, मट्टितेल तोरीको तेल लिएर आउन आदेश दियो । पुलिस सलाम ठोकेर गयो ।
(वि.क.द्वारा लिखित बृत्तान्त “कालकोठरीका ती दिन” को अंश ।)
(स्रोत : हाँक विक्ली – वर्ष ३१, अङ्क २१ – April 9, 2014 – २०७० चैत्र २६ गते, बुधबार)