~उमाशङ्कर द्विवेदी~
वर्धमान नामक नगरमा दन्तिल नाम गरेका एकजना आभूषण व्यापारी निवास गर्दथे । नगरका प्रजा र राजा दुवैलाई आफ्नो राम्रो व्यवहारका कारण उनले प्रसन्न राखेका थिए । विशेष गरेर उनी राजाका प्रिय र नजिकका मानिस थिए ।
समय खुशीपूर्वक बितिरहेको थियो । कालक्रमानुसार दन्तिलकी छोरीको विवाह हुने अवसर आयो । त्यस विवाहको अवसरमा उनले सम्पूर्ण नगरवासी, राजकर्मचारी तथा राजालाई पनि निमन्त्रित गरेका थिए । विवाहको अवसरमा निमन्त्रित जम्मै पाहुनालाई दन्तिलले भव्य स्वागत सत्कार गरेका थिए । विवाह पछि राजा तथा रानी तथा तिनका परिजनलाई दन्तिलले आफ्नो घरमा आदर सत्कार गरेका थिए ।
राजाका सेवकहरूमध्ये गोरम्भ नाम गरेको एउटा अनुचर पनि थियो, जो राजदरबारमा कुचो लगाउने काम गर्दथ्यो । राजाका साथ ऊ पनि त्यस विवाहमा सामेल भएको थियो तर आफ्नो पदको प्रतिकूल कुनै उच्च आसनमा बसेको देखेर दन्तिलले उसलाई गलहत्याएर बाहिर निकालिदिएका थिए । यस प्रकारको अपमानबाट ऊ निकै दु:खी भएर दिनरात दीर्घ नि:श्वास लिरहन्थ्यो । त्यस अपमानबाट आहत भएर ऊ राति ओछ्यानमा सुत्न पनि सकिरहेको थिएन । कोल्टे फेरीफेरी ऊ निरन्तर सोचिरहन्थ्यो– कसरी यस व्यापारीलाई राजाको कृपा निगाहबाट वञ्चित गरेर यस अपमानको बदला लिन सकूँ ?
अन्ततोगत्वा उसले सोच्यो– चिन्ताले व्यर्थ शरीर सुकाउनाले के लाभ ? उचित अवसर अवश्य नै आउला र कुनै उपायले राजाको कृपा निगाहबाट यस दन्तिललाई अवश्य नै वञ्चित गर्न सकिएला । एक दिन एकाबिहानै जब राजा अर्धनिद्रामा ओछयानमैं सुतिरहेका थिए, गोरम्भले राजाको ओछ्यानको छेउछाउ कुचो लगाउदै भन्यो–हेर १ दन्तिलको साहस र घृष्टता, अचेल त उसले रानीलाई अड्ढमाल गर्ने गर्न थालेको छ ।
राजा उसको कुरा सुनेर आत्तिंदै सोधे–गोरम्भ १ तैंले भनेको कुरो साँचो हो र ? के उसले रानीलाई साँच्चिकै अँगालो हाल्ने गरेको छ ?
जवाफमा गोरम्भले भन्यो–सरकार १ हिजो राति जुवा खेल्दैमा रात बित्यो । म रातभरि सुत्न पाइनँ । त्यस जागरणको कारण मलाई अहिले काम गर्दागर्दै निद्रा लागेको थियो । मैले अहिले भनेको कुरा बारे थाहा छैन । मैले त्यसो भनेके हो र सरकार ?
गोरम्भको यस प्रकारको कुरा सुनेर राजाले मनमनै विचार गरे–यो गोरम्भ भित्री खोपीसम्म बिना रोकावट जानेआउने गर्दछ । दन्तिल पनि खोपीसम्म आउनेजाने गर्दछ । महारानीलाई दन्तिलले अँगालो हालेको देखेको हुन सक्दछ । त्यसै कारण गोरम्भले यस प्रकारको प्रलाप गरेको हुन सक्दछ किनकि मानिसले दिनमा जे कुरा देखेको हुन्छ, सपनामा पनि त्यही कुरा देख्दछ । राजा दन्तिलबाट अप्रसन्न रहन थाले । स्त्रीहरूको चरित्रबारे सुनेका विभिन्न कुराहरूको विचार गरेर राजाले दन्तिलको राजभवन प्रवेशमा बन्देज लगाइदिए ।
राजा आफूसँग अकस्मात अप्रसन्न भएको देखेर दन्तिल निकै चिन्तित भए । मैले राजाको सपनामा पनि अनिष्ट गरेको छैन । किन राजा ममाथि रिसाए–बुझ्नै सकिएन । दन्तिल राजदरबार प्रवेश गर्न खोजे । द्वारपालहरूले उनलाइ भित्र छिर्न दिएनन् । यस अवस्थामा दन्तिल निकै दु:खी तथा चिन्तित भएको देखेर कुचो लगाउने गोरम्भले द्वरपालहरूसित हाँस्दै भन्यो–द्वारपालहरू १ सावधान, दन्तिल नामक यी व्यापारी राजाका विशेष कृपापात्र हुन् । यिनलाई भित्र जानबाट रोकेको खण्डमा राजदण्डको भागी हुनुपर्नेछ ।
गोरम्भको त्यस प्रकारको कुरा सुनेर दन्तिलले मनमनै विचार गरे–ओ हो १ यो जम्मै प्रपञ्च यसै गोरम्भकै हुनुपर्दछ किनकि भनिएको छ–अकुलीनो·पि मूर्खो·पि भूपालं यो·त्र सेवते । अपि संमानहीनो·पि स सर्वत्र प्रपूज्यते ।। अर्थात् राजाको सेवामा नियुक्त व्यक्ति कुलहीन, मूर्ख तथा राजाद्वारा असम्मानित भए पनि लोकमा त्यसको आदर हुन्छ ।
राजदरबारद्वारा अपमानित भएर दन्तिल लज्जित, निस्तेज तथा उद्विग्न भएर घर फर्केर गोरम्भलाई आफ्नो घरमा आदरपूर्वक बोलाएर स्वादिष्ट भोजन तथा वस्त्रहरू दिएर सम्मानित गरी गोरम्भसित भने–महाशय १ त्यस दिन मैले तपाईंलाई रिसले निकालेको थिइनँ । तपाईं बाहुनहरूभन्दा पहिले नै उच्च आसनमा बसेको देखेर मैले तपाईंको अपमान गरेको थिएँ । तपाईं त्यस घटनालाई बिर्सेर मलाइ माफ गर्नुहोस् ।
गोरम्भले स्वर्गीय राज्यझैं प्राप्त त्यस्तो सम्मानबाट खुशी भई दन्तिलसित भन्यो–महाशय १ तपाईंले मलाई दिएको यस सम्मान तथा उपहारको कारण तपाईंलाई क्षमा गरिदिएँ । यस सम्मानको सट्टा अब मेरो बुद्धिको प्रभाव हेर्नुहोला जसले तपाईंलाई फेरि राजाको प्रियपात्र बनाउन सक्दछ ।
अर्को दिन गोरम्भ राजभवनमा गएर अर्धनिद्रित राजाको नजिक गएर कुचो लगाउँदै भन्न थाल्यो–यो राजाको कस्तो फोहोरी बानी हो, यिनी त दिसा गर्ने बेलामा पनि काँक्रा खाँदा रहेछन्, हरे १
गोरम्भको कुरा सुनेर राजाले आश्चर्य मान्दै सोधे–अरे गोरम्भ १ कस्तो नचाहिंदो कुरा गरेको ? घरको सेवक भएको हुनाले म तिमीलाई मारिरहेको छैन । तिमीले कहिले मलाई त्यस्तो काम गरेको देख्यौ, पाजी १
जवाफमा गोरम्भले भन्यो–सरकार १ हिजो राति जुवा खेल्दैमा रात बित्यो । म रातभरि सुत्न पाइनँ । त्यस जागरणको कारण मलाई अहिले काम गर्दागर्दै निद्रा लागेको थियो । मैले अहिले भनेको कुराबारे मलाइ थाहा छैन । मैले त्यस्तो के भनें र सरकार ?
उसको कुरा सुनेर राजाले मनमनै सोचे–मैले आजसम्म दिसा गर्ने बेलामा कहिल्यै पनि काँक्रो खाएको छैन । तैपनि यो मूर्ख गोरम्भले अप्रासा·िक कुरा भनिरहेको छ । निश्चय नै दन्तिलको बारे पनि यसले यस्तै अप्रासा·िक कुरा गरेको हुनुपर्दछ । बिचरा दन्तिललाई मैले आफ्नो कृपा र राजसम्मानबाट वञ्चित गरेको कुरा सही थिएन । त्यस्तो मानिसले यस्तो आचरण गर्नै सक्दैन । यस प्रकार विचार गरेर राजाले दन्तिललाई बोलाई वस्त्राभूषणले सम्मानित गरी पूर्व पदमा नियुक्त गरिदिए ।
(स्रोत : प्रतीक दैनिक पत्रिका)