कथा : एउटा सम्बन्ध जसको नाम छैन

~गोविन्द श्रृङ्खला~

मैले देखेको त्यो दृश्य अँ हँ म कहिल्यै बिर्सन सक्दिन । मेरो मन मस्तिष्कमा त्यस घटनाले बारम्बार झकझकाइ रहन्छ । मैले चाहेर पनि त्यो घटना मेरो मानसपटलबाट मेटाउन सकेको छैन । मैले कैयौं पटक त्यस घटनालाई सपना ठानेर बिर्सने कोशिस नगरेको पनि हैन तर जति प्रयास गरे पनि म यस घटनालाई बिर्सन सकिरखेको छैन । मैले कति बिश्वासका साथ जानुकालाई जीवन संगीनीका रुपमा भित्र्याएको थिएँ । म मा देखिएको उत्साह र उसले देखाएको समपर्णको धरातलमा उभिएको हाम्रो संबन्ध यति कमजोर होला मैले सोचेको थिइन । तर समयले कस्तो कटील चाल खेलेको रहेछ बुझ्न सकिएन । मैले उसलाई दिएको मायामा कुन्नि के कमी रह्यो मलाइ थाहा छैन । जीवनको दश बर्षे सहयात्राका क्रममा देखिएका अनेकन कठीन मोडमा हामीले संघर्ष गरेका थियौं । सुन्दर भविश्य प्रति हाम्रो साझा प्रतिबद्धता थियो र जीवनका हरेक क्षणमा हामीमा एकजुट भएर संघर्ष गर्ने स्विकृती थियो तर कुन्नि के त्यस्तो परिस्थिती सिर्जना भयो हामीले गरेका हरेक प्रतिबद्धता र सहमतिहरु धरापमा परे । हामी बीच रहेको आत्मीयतामा दूरी बढ्न थाल्यो । हाम्रो संबन्धमा क्रमशःधमिरा लाग्न थाल्यो । जानुकामा रहेको हरेक बिषयलाई आफ्नै तरिकाले बिश्लेषण गर्ने स्वछन्दबादी प्रबृृतीले हो या आधुनिकता देखाउने होडमा घर लुटिएको चाल नपाएर हो हाम्रो घर अव केवल घरका रुपमा आश्रय स्थल बन्न पुगेको छ दुवैका मनहरु दुई तिर फर्केका छन् र संयोजनको संभावना क्रमिक रुपमा क्षिण हुंदै गइरहेका छ ।

बिगतका हरेक घटनाचक्रलाई केलाउंदा म बाट त्यस्तो केही भएको छैन भन्नेमा म बिश्वस्त छु । किनभने मैले समपर्ण गरेका हरेक अवस्थाको म प्रतक्ष्यदर्शी हुं । मैले दिएका हरेक संभावनाको साक्षी पनि म नै हुं । र मैले भोगेका हरेक पीडाको अनुभव गर्ने पहिलो र अन्तिम व्यक्ति पनि मै हुं । यसैले पनि म त्यस्तो केही गर्न सक्दिन जसले जानुकाको मन दुखोस् । खै किन उसले मेरो विश्वासलाई चुनौती दिन खोज्दैछ मलाइ थाहा छैन । अझ जानुका कै सामु भएको धम्कीपूर्ण व्यबहार अँ हँ मेरो दिलो दिमागबाट ओझेल हुनै सकिराखेको छैन । बिस्मयले म संग गरेको त्यो व्यबहारलाई पनि जानुकाले टुलुटुलु हेरेको घटनाले मलाई झन मर्माहत पारेको थियो । म भित्रको पुरुषत्व जुर्मुराउने चेष्टा नगरेको पनि हैन तर समय र परिस्थितीको सामु मैले सम्झौता गर्नु परेको थियो । म भित्रको विवेकले यस भन्दा उत्तम बिकल्प अर्को देखेन न बिद्रोहको संभावनालाइ नै स्विका¥यो । अन्तरद्वन्दको बिचमा मेरो कोमल मन थिचियो मिचियो र क्षत बिक्षत बन्यो । मेरो अगाडी ती तमाम समस्या र परिवन्द मडारिरहे जसको चक्रव्यूहमा अनायासै म र मेरो परिवार बन्दि बन्न पुग्यो । मलाइ मेरो छोराको त्यो वालापनले बाध्य बनाइरहेको छ र छोरीको सुन्दर भविष्यले सम्झौता गर्न बिबश गराइरहेको छ । मलाइ लाग्छ जानुकासंग मेरो भन्नु के नै बाकी रहेको छ र ?

जानुका र बिस्मय बीचको संबन्ध प्रति मेरो तीव्र असहमति छ तर पनि मैले यस संबन्धलाई चकनाचूर पारेर भत्काउन सकेको छैन । र बिस्मयको लागि बढीरहेका जानुका का पाइलाहरु रोक्ने आँट पनि गर्न सकेको छैन । त्यस दिनको घटना पछि त उनिहरु अव मेरो उपस्थितीको समेत पर्वाह गर्न छोडि सकेंका छन् । म भने मनमनै कुडिनु सिवाय अर्को बिकल्प पनि छैन या त मैले हिम्मतका साथ बिद्रोह गरेर नाम नभएको संबन्धलाई सवैका सामु उदाङ्ग पार्न सक्नु पर्छ त्यसो गर्न म सक्दिन । म भित्र भित्रै जलीरहेको छु मेरा भावनाहरु कुण्ठाले दमित भैरहेका छन् र मेरो अन्तरमनले मलाई धिक्कारिरहेको छ । मलाइ त अव हरेक बिषयलाई नकारात्मक दृष्टिले हेर्ने बानी नै परिसकोछ । मेरो सामु कुनै बिषयले पनि प्रभाव छोड्न सकिराखेको छैन । हरेक बिषय मेरा लागि उदासिन बन्दै गएका छन् र मेरो बुझाइमा विश्वासको कुनै अर्थ बाँकी छैन । मेरा हरेक अंगहरु विश्वासको अभावमा दुखिरहेका छन् र यो दुखाइको अन्त मैले टाढा टाढा सम्म पनि देखिराखेको छैन । केही समय शिथिल रहेको उनिहरु बीचको संबन्धले फेरि गति लिन थालेको अनुभव मैले गरिरहेको छु । हिजो मात्रै हो मेरो साथीले मलाइ कटाक्ष गरेको जानुका र बिस्मयको बिषयलाइ लिएर । उसको आशयलाई मैले बुझेर पनि अन्जान बन्ने कोशिस गरेको थिएँ । कैयौं पटक मेरो आत्मस्वाभिमानको हत्या भएको छ र कैयौं पटक मेरा भावनाको दुखद अवशान भएको छ । लाग्छ संसारका हरेक बस्तुले नजानिदो ढंगले मै माथी कुटील प्रहार गरिरहेका छन् । र जानी नजानी यसको निशाना म नै बन्ने गरेको छु । यो संभावना हो कि चुनौती हो मैले खुट्टयाउन सकेको छैन । मेरो जीवनको बाटोमा रहेको यो व्यबधानलाई मैले काँडाको संज्ञा दिए पनि मैले यी काँडालाई पन्छाउन सकेको छैन र मेरो दुखेको अन्तरमनमा मलम लगाउन पनि सकेको छैन । ओ हो कस्तो अन्तरद्वन्दको सिकार बन्न पुगेछु म, मैले मेरा बिचारलाई कहिल्यै पनि डो¥याउन सकिन । म क्रमशः निस्तेज बन्दै गएँ । मेरो घरायसी बातावरण पनि असान्त र धुमिल बन्दै गयो मेरा लागि जानुका संगको बैवाहिक संबन्ध केवल औपचारिकता मात्रै लाग्न थाल्यो । छोरा छोरीको अनुहारमा देखिने अवोधपनालाई पनि जानुकाले बुझ्न नसकेकोमा मातृत्वको वकालत गर्ने उसको सवै रुप देखावटी झै लाग्न थाल्यो । बिस्मयसंगको संबन्धमा उसले के पाइ र घर परिवार प्रतिको विश्वासघातमा के गुमाइ त्यसको लेखाजोखा गर्ने उसमा फुर्सद पनि छैन र सायद उसले यसो गर्न पनि चाहन्न । किन भने बिस्मयको चाटुकारितामा उसको मोह भङ्ग भैसकेको छैन जुन दिन बिस्मयले उससंगको संबन्धलाई पानीको आकार दिनेछ त्यस दिन न ऊसंग त्यो दम्भ रहने छ न समाजमा उसको सम्मान नै शेष रहने छ । यो संभावित भविश्य पनि उसको अगाडी छर्लङ्ग छ तर पनि उसका गतिबिधीले अनिश्चित भविश्य माथी पर्दा हालिरहेको छ । उसको संभावित पलायन संगै आज मेरो जीवनको मुक्त आकाशमा ग्रहण लाग्न खोज्दैछ । खै कहिले होला यो जीवनको लेखा जोखा ? अनि यसको अन्त्य कहाँ होला र यसको सीमा कहिले कोरिएला ? जीन्दगीको यस यात्रामा म धेरै पटक लिलाम भएं खै यसको अन्त कहिले होला ?

मलाई लाग्यो जानुकाको र मेरो बीचमा रहेको उमेरको अन्तर नै यसको कारक हो कि ? तर पति पत्नीको संबन्ध त भावनात्मक पो हुनु पर्ने दैहिक संबन्धको आधारमा निर्माण गरिएको संबन्धले कहिले पो स्थायित्व पाएको छ र ? गहिरिएर सोच्ने हो भने त त्यस्तै हुनुस पर्ने तर सतही रुपमा सोचियो भने …..। हा… मेरो मनोवाद भित्रको पीडामा कसले मलम लगाउने ? मन भित्रका हरेक तिक्तताहरु शव्द बनाएर पोख्नु बाहेक मेरो जीवनमा अरु केही बाँकि छैन । मलाई जानुकाले हिजो मात्रै भनेकी थिइ “म एक महिनाको तालीमका लागि काठमाण्डौ जाँदैछु । केटाकेटीको हेरचाह राम्रो संग गर्नु” । मैले ठाने अव त जानुकामा केही जिम्मेवारी बोध भएछ कमसे कम घर परिवार र केटाकेटीको चिन्ता सम्म त गर्ने भइ । मेरो सोंचाइ त पानीको फोका जस्तै रहेछ । जव म जानुकालाई बसपार्क सम्म छोड्न गएँ बिस्मय पनि त्यही रहेछ । ऊ पनि काम बिशेषले काठमाण्डौ जाने कुरा गर्दै थियो । कुरो बुझ्नलाई मैले धेरै अगाडी सम्म सोच्नु परेन किन भने यथार्थ मेरो सामुन्ने थियो । म बाट भागीरहेका हरेक आकृतीहरु क्रमशः मेरा वरिपरि घुम्दै आएका छन् म भने भाग्ने प्रयास गर्दैछु तर म जति भागे पनि उनिहरुले मैलाई पछ्याइरहेका छन् । अव त मेरो धैर्यको बाँध टुट्ला झै लाग्न थालिसकेको छ । म जति सम्हालिन खोज्छु परिघटना त्यति नै नजीकबाट मलाइ जिस्काउन थाल्छन् , म प्रति कडा उपहास गर्छन् र तिखो व्यङ्ग कस्छन् । बस मेरो आँखाबाट ओझेल हुन्छ । मेरो आँखा अगाडी जानुका र बिस्मय जिस्किएको दृश्य झलझली दोहोरिन्छ । मेरो सामिप्यताबाट बसको गति जति जति टाढिदै जान्छ त्यति त्यति मेरो मन भित्र उनिहरुको बेनामी संबन्धको दूराशय खेलिरहन्छ । मैले गरेका हरेक त्याग र समपर्णको वास्ता नगरी जानुकाले गरेको यस व्यबहार प्रति म क्षुव्द हुन्छु क्रोधित हुन्छु र भविश्यको धूमिल तस्विरलाई अनिर्णयको आवरणमा छोप्ने प्रयास गर्छु । मेरा प्रयासहरु कहिले झुक्छन् त कहिले धरमराएर बेहोस हुन्छन् अनि सोच्दै नसोंचेको संभावित सन्त्रासले विलीन हुन्छन् । म निन्याउरो मुख लगाएर घर फर्किन्छु । मेरो चिन्तित मुहारलाई सायद मेरी आठ बर्षिय छोरीले पढिसकेकी रहिछ । उसको बोलीले म झसंग भए । उसले भन्दै थिइ सायद म जानुका संगको एक महिने बियोगले दुखित छु । तीन प्राणी बिचको यथार्थ उसलाइ के थाहा ? मेरो आग्रहमा छोरीले चिया बनाइ र म घरको दलानमा रहेको कुर्सिमा बसेर चियाको घुट्को संगै जीनदगीको परिभाषा खोज्न थालें । आँ हँ कहि कतै भेटीन, भेट्ने संभावना पनि देखिन । निक्कै बेर घोत्लिरहे कहि कतै निकास निस्किन्छ कि चिन्तन गरिरहें ।ं खै कहि कतै कुनै संभावना देखिन । यो जीवनको मैदानमा धेरै कुरा गर्ने धोको थियो धेरै काम गर्न बाकी थियो अव त लाग्छ मैले तर्न खोजेका खोला पनि उर्लिएर आए, सुसाएर आए । मैले जीन्दगीका अन्तिम क्षणको प्रतीक्षा गर्नु बाहेक अरु बाकी छैन भन्ने निष्कर्ष निकाल्न पुगें ।

करिव एक महिनाको तालीमे नाटक पछि जानुका घर फर्कि । मैले सोच्न नसकेका हरेक क्रिया प्रतिक्रियाका अमूर्त मनोकांक्षाहरु कति साकार भए होलान् र कति कल्पना र सार्थकताको मध्यबाट तर्किए होलान् । उसको दैहिक तृप्तताका अवशेषहरु मेरो मानसपटलमा चित्रित भइरहेका थिए । मेरो कल्पनाको पटाङ्गिनीमा धेरै त्यस्ता बिषयहरु छरपस्ट छरिएका थिए जसलाई मैले सकि नसकि रोक्ने प्रयास गरिरहेकै थिए । मेरो भित्री मनले भन्नै लागेको थियो अव तेरो यस घरमा कुनै स्थान छैन अव तेरो सोंच र मेरो सोंचमा धेरै दूरी बढेको छ भनेर तर त्यसो गर्न सकिन । किन भने मैले सांसारिक आरोह अवरोहका ती कठीन मोडहरुलाई ज्यादै नजीकबाट अनुभव गरेको छु र हरेक मोडले मेरो अन्तर्भावलाई मर्माहीत पारेको छ न मैले आफ्ना व्यथाहरु खुलस्त पोख्न सक्छु न पीरमुक्त भएर जीउन सक्छु । मैले धेरैका जीवनरुपी धरोहरलाई संरक्षण गर्नु छ र ती संरक्षित जीवनमा सुनौलो भविश्य खोज्नु पनि छ । मैले काठमाण्डौबाट फर्के पछि जानुकामा केही परिवर्तनको अनुभव गरें । अव उसमा बिस्मय प्रतिको त्यो आशक्ति छैन जुन आशक्तीमा उसले हरेक औपचारिक संबन्धको समेत ख्याल गरेकी थिइन सायद उनिहरु बीचको एक महिने बसाइले धेरै तुषहरु जन्माएको हुनु पर्छ । सायद अस्थिर बिस्मयको व्यबहारको अनावरण भएको हुनु पर्छ र सायद जानुकाले बुझेकी पनि हुन सक्छे कसैको घर भत्काउनेले कसैको घर स्विकार गर्न पनि सक्दैन भनेर । यथार्थलाई सायद जानुकाले अव बुझ्ने कोशिस गरेकी हुन सक्छे । काठमाण्डौ बाट फर्केको केही दिन पछि मैले एक दिन उनिहरुको टेलीफोन वार्ता सुने सायद विस्मयलाई जानुकाले कुनै कुरामा दवाव दिंदै थिइ र उसले यसलाई स्विकार गर्न तयार थिएन । सायद बिस्मयको छद्म रुपलाई जानुकाले बुझेको हुनु पर्छ यसैले होला पछिल्ला दिनहरुमा उसमा यत्तिको परिवर्तन आएको । एउटा संबन्ध जसको नाम छैन र समाजले यस संबन्धको नाम दिन सक्दैन यसैको पछि दगुर्ने जानुकाको जीवनले कोल्टे फेरेको हो कि ? ऊ टोलाएर एकोहोरो हेरिरहेकी छे । म उसमा आएको परिवर्तनले भित्र कता कता खुशी हुने चेष्टा गरिरहेको छु ।

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.