~मनु मन्जिल~
तिमीलाई सम्झी आफ्नो नाम भुली आएँ
जून भेट्ने रहरमा घाम भुली आएँ ।
पाखाभरि फुल्ने गुराँस ‘बैँस लैजाऊ’ भन्थे
तिम्रा लागि फूलैफूलको इनाम भुली आएँ ।
एक छेउ आँचल देऊ न, गोप्य लिखत दिऊँ
हतारमा दौडेको थेँ, खाम भुली आएँ ।
कोइलीहरू हराएको धुन खोज्दै होलान्
आउँला भन्दै हिँडेको म जमान भुली आएँ ।
तिम्रै तस्बिर बनाऊँ कि एक जिन्दगी म ?
यसकै लागि आखिर सारा काम भुली आएँ ।
(स्रोत : साहित्यसरिता – अङ्क २ वर्ष-२ साउन-भदौ-असोज-२०६२)