~अन्वेश राई थुलुङ्ग~
नाकाबन्दीको प्रभाव महशुस हुन थालिसकेको थियो । सबैतिर राष्ट्रियतालाई लिएर धेरै कुराको संवाद भइरहेको थियो ।
एक तराई मुलको पात्र नेपालको पहाडी इलाकामा भित्रिएको छ । सडकमा हिँडिरहेको व्यक्तिको अनुहारमा विपन्नता प्रष्ट झल्कन्छ । दुब्लो पातलो शरिरमा एउटा सर्ट, पेन्ट र गम्छामा लपेटिएको उ केटाकेटीले खेल्ने खेलौना, मयुरका केही प्वाँखहरु र बेलुनहरु बेच्न लागिरहेको छ । त्यतिकैमा एक सम्भ्रान्त र गठिलो शरिर भएको व्यक्ति उसको सामुन्ने आउँछ । आफ्नो चस्मा झिकेर सो व्यक्ति बोल्छ, ‘नेपाली बुझ्छस् ?’
‘थोडा थोडा ।’
‘तेरो देशले हाम्रो देशलाई नाकाबन्दी लगाएको छ । तँसँग एकदिनको समय छ । आफ्नो देशमा फर्कि । फेरी यता यो बेच्दै गरेको पाएँ भने यो सब जलाइदिन्छु । जा तेरो सबै साथीलाई भन्दे ।’ सो राष्ट्रियताले ओतप्रोत व्यक्तिको कुरा सुनेपछि आफ्नो सम्पुर्ण सम्पत्तिको नामको कमाइ खाने सो सम्पुर्ण सामानहरुलाई पीडामय तरिकाले हेर्छ र भन्छ, ‘हमारा कोइ देश नहि होता साहब ।’
(स्रोत : रचनाकारको ब्लगबाट सभार)