~प्रदीप गुरुङ~
माछा मार्ने बाहुन थिए – एउटा गाउँमा। गाउँ थियो खोला पारी। ठूलो थियो खोला। हिउँदोमा पनि नसुक्ने। त्यही खोलामा माछा मार्थे ती बाहुन। गाउँमा सधैँ जजमानी नचल्ने। सातजनाको परिवार थियो। हात-मुख जोड्न पनि धौ धौ पर्लाजस्तो हुन्थ्यो कुनै बेला त। जेठा र माइला छोराहरू खेती गर्ने उमेरका थिए। खेती नै गर्थे। तर तिनलाई त्यसबारे ऱ्याइँ न झ्याइँ। खेत पनि थिएन त्यति पारिलो। कुलो सहजै नपुग्ने खेतमा उब्जने अन्नले कहाँ थेग्थ्यो र वर्षभरि। माछा नमारी त धरै थिएन तिनलाई।
दिनभरि घरमा सुत्दथे ती। छोराहरू खेतमा। घरमा तीन छोरीहरू र आमा रहन्थिन् तर कुनै कुनै बेला ती सबै खेतमै जान्थे। ती बाहुन भने साँझ परेपछि काँधमा एकपट्टि जाल र अर्कोपट्टि पकाइखाने सामल तुमलको झोला भिरेर झर्थे खोलातिर। अचम्म्! रातमा माछा मार्नु? खोला पुग्ने ठाउँमा एउटा फड्के थियो। फड्केमुनि बगरमा काला ढुँगाहरू थिए एमान एमानका। त्यही ढुँगाको चेपमा तीन ढुङ्गे चुह्लो, केही दाउरा र काइ परेको भाँड़ों थियो।
अन्धकारमा पनि कस्तरी आँखा देख्थे ती बाहुन! बानी भएर होला। दुइपल्ट जाल हानेर माछा बटुलेपछि तिनी दाउरा बटुलेर आगो पार्थे र रातको मध्य प्रहर बित्दा पकाएर खाइ पनि सक्थे। खाइसकेपछि एक झप्को आँखा लाग्थ्यो तिनलाई। फेरि उठेर आकाशको तारा हेरी तिनी पानीको सेतो मुलकोतिर अन्दाज गर्दै जाल हान्थे। निकै पटक जाल हानेर माछा बटुल्दा रातको अन्तिम प्रहर बितेर पनि ब्रह्म मुहूर्त शुरु भइहाल्थ्यो। माछा बोकी ती घर फर्कन्थे। गाउँ गाउँ डुलाएर माछा बेच्ने काम थियो छोरीहरूको। दिनभरि फेरि तिनी सुतिरहन्थे।
एक रात पूर्णिमाको छेकको रात थियो। जूनको कोमल उज्यालां एक सुरसँग बाहुन जाल हाल्दै थिए। खोलाको एकोहोरो स्वाँ…. आवाजबाहेक घरि घरि जाल फैलाएर फ्याँक्दा आएको छप्लङ्ग छप्लङ्ग आवाज मात्र सुनिन्थियो। आज चैं कत्ति नै जाल हान्दा पनि माचा एउटै पनि परेन। भोक अज धेर लागेको थियो। चट्टानको फेदमा भात पकाउनलाई आगो बाल्दा आगोको आँच धेर न थोर हुन्थ्यो र बगर घरि चहकिलो घरि मधुरो देखिन्थ्यो। आधा घन्टापछि पकाएर ठाम्ठिम् पार्दा बगरमा ती बाहुन सामू एउटा मानिस आएर उभियो।
“को तिमी?” नडराई बाहुनले सोधे।
“म पारी मावली गाउँतिर जान लागेको, बाटो पो बिराएँ। सानामा एकपटक आएको, भुलेछु।” सामूको मान्छेले भन्यो।
“बस न त।” मात्र भनेर बाहुनले बोहोतामा बांसको दाबिलोले भात पस्कन थाल्यो। भोको मानिस रहेछ सामू उभिएको, नधकाई बोल्यो –
“भोकै छु, मली पनि दिनू नि।”
माछा मार्ने नै भए पनि दयालु थिए बाहुन। बोले, “मध्य रातमा आएको भए पनि तिमी मेरो पाहुना भयौ। भाग लगाउंला नि।”
एक छिनसम्म दुवैले सपासप भात खाए। माथि बगरबाट पानी छिरेर चट्टानछेउ धारो लाग्दै बगेको पानी उगी आएको मानिसले मुख चुट्यो। बाहिन त आज अउटै माछा नपरेको झोंकमा जाल उटाई खोलाको किनारमा पुगिसकेका थिए। आएको मानिस पनि नबोली उभिन आयो तिनको पछि।
“तिमीलाई जाल हान्न आउँछ? खै, मैले आज कति चोटि जाल हानिसकें तर एउटै माछो पनि परेन।”
आएको मानिस बोलेन।
जून अस्ताउलाजस्तो भयो। ती बाहुनले चुपचाप जाल हानिरहे। निकै बेरपछि किनारमा उभिएको मानिसले बाहुनलाई भन्यो, “म एउटा कुराको खुलासा गरूँ?”
“के?” अझै जाल हान्दै बाहुनले उभिएको मानिसतिर हेरदै नहेरी भने। त्यो मानिस अलिक नजिक आएर बोल्यो, “आज मेरै कारणले तपाईंको जालमा एउटा पनि माछो पर्ने होइन क्यार। माछाहरू मसँग डराएर भागिसके। एकछिन जाल हान्न रोक्नुहोस्। सुन्नुभयो, म तपाईंजस्तो जिउँदो मान्छे होइन। म त डाँडा काँडा र त्यो खोला-घारीतिर चहारिहिंड्ने मशान हुँ। रातमा यहां मेरो राज चल्छ। अरू प्रेतहरू मेरा छेउ पर्दैनन्।”
बाहुन जाल उठाएर जाल हान्ने ढाँचामा उभिएको उभिएकै भए। आएको मानिस फेरि बोल्यो, “अब ब्रह्म मुहूर्तअघि नै मलाई जानु छ। तपाईंले मलाई भात खुवाएर सन्तुष्ट पार्नुभयो। तपाईंलाई म दुइ थोकको वरदान दिन्छु। लिन मान्नुहुन्छ?”
“लिन्छु नि, किन नमान्ने?”
“पहिलो थोक अब उसो तपाईंले चराचुरुङ्गीले बोलेको भाषा बुझ्न सक्नुहुनेछ। दोस्रो थोक तपाईंले यमराज, यमदूत र स्वर्गका देवताहरूलाई देख्नसक्नुहुनेछ र पापी धर्मी चिन्नसक्नुहुनेछ। तर एउटा शर्त छ। यहाँ हाम्रो भेट भएको कुरा र मैले बताएको कुरा कसैलाई पनि नभन्नुहोला। बताउनुभए के नतिजा हुन्छ? बुझ्नुभयो?…तपाईं शिलामा परिणत हुनेछ।”
अन्तिम वाक्य कठोरताका साथ भनेर आएको मानिस किनाराबाट बिलायो।
भुकभुके उज्यालो हुँदा ती बाहुन पनि जाल लिएर रित्तो हात घर पुगे। घरको बज्यै दिनभरि गनगन गरिरहिन्। साहुको पसलमा चामल लिन पठाउने पैसा भएन आज। घाम लागेको थियो। पोहोरको धान दुइ मानु मात्र उब्रिएको थियो। दिउँसोको भान्सा नहुने भयो। बजैले त्यही धान सुकाएर रातिको भान्साको लागि चामल कुट्ने विचार गरिन्। बाहुन थिए भित्र सुकुलमा। धान थियो बाहिर घाममा। दिउँसो निद्रा पर्ने बाहुनलाई आज भोको पेटको कारण निद्रा परेन। बाहिर भङ्गेराका भाले पोथी चिरबिराउँदै घान सुकाएको ठाउँनेर आए। भित्रबाट बजै कराइन् – “घराँ एक गेड़ो चामल छैन। यस बुढोको भङ्गेरो धपाउने हुति पनि छैन।”
भङ्गेरा-भङ्गेरी बोल्न थाले – “यस घरको आइमाई ता कस्ती पापिनी रैछे। हाम्ले दुइ-चार गेड़ो अन्न टिप्दा के बिग्रन्छ नि तिनका।”
बाहुनले बुझे।
“हन हातमा त कोढ़ लाग्या छैन। भङ्गेराले धान खाइसक्यो।” घरकी आइमाई अझ कराइन्।
भङ्गेरीले भङ्गेरोलाई भनी – “यो आइमाई दिउँदै नरक जान लायककी रैछे।”
बाहुनीले भित्रैबाट कुचाको झटारो हानिन्।
“आम्मै! झन्डै मारी मोरीले। यो आइमाई त सोझै नरक जान परोस्।”
भङ्गेरा र भङ्गेरी उड्दै कराए.
पत्नीको सराप लाग्ला नि। ती बाहुनले रातिको मशानलाई सम्झे।
एक महिनापछि। बाहुनको परिवारमा एउटा घटना घट्यो। दु:खद्। पल्लो घरमा तिनका ससुरा बिरामी नपरी परमधाम पुगे। दाह-संस्कारको लागि तिनी खटिए. बाहुनी रोएर भइन् बेहाल। ससुरा साह्रै धर्मात्मी थिए। सबै आफन्तहरू आए। घाटतिर जाने बेला भयो। लाशलाई विधिपूर्वक बाहिर आँगनमा निकालियो। मशानबाट वरदान पाएका ती बाहुनले साँच्चै देखे – स्वर्गका राजा इन्द्र स्वयं आफ्ना भारदारहरूसँग रथ लिई तिनका ससुरालाई लिन आए। मृत धर्मात्मी ससुराको प्रशंसा गर्दै इन्द्र देव आफ्ना भारादारहरूसँग हाँसे। ससुरालाई मुक्ति मिल्ने भयो भनेर इन्द्रदेव र भारादारहरूसँग ती बाहुन पनि हाँसे। मलामी जानलाई तरखर गर्नेहरू सबै छक्क परे। तिनकी स्वास्नीले परैबाट रोएर राता भएका आँखा फुकालेर ती बाहुनलाई हेरी।
(स्रोत : रचनाकार डट कम)