~ठाकुर बेलवासे~
आमा!
तपाईंलाई थाहा छ
मलाई मान्छे अति प्रिय लाग्थ्यो।
पहिलो पटक बन्द कोठामा
उसलाई भेट्दा पनि
मैले अरू मान्छेलाई जस्तै प्रेमले हेरेकी थिएँ।
उसका
आँखा, नाक, ओठ अनि दाँत
अँ बोल्दा घरिघरि देखिने जिब्रो
भनौँ न सिंगो अनुहार
मेरा दाइ, भाइ, काका या बाबाको जस्तै लागेको थियो
र त मैले उसको अनुहारमा मानिसको अनुहार देखेथेँ।
उसका आँखा
मैले कक्षा एक देखि सँगै पढेका
साथीहरूकै जस्ता थिए
र त उसका आँखामा आँखा जुधाएर बोलेकी थिएँ।
बन्द थियो कोठा
बन्द कोठामै त
म दाइसँग सधैँ बस्थेँ घण्टौँ
बन्द कोठामै त
म बाबासँग सधैँ बस्थेँ धेरै बेर
उससँग बन्द कोठामा बस्दै गर्दा
झ्यालबाट भित्र छिरेको प्रकाश
विस्तारै अँध्यारो बन्दै गयो
मेरो मन पनि कताकता हल्लिएको जस्तो भयो
म बाहिर निस्कन
उसको अनुहार हेर्दै थिएँ
आमा!
ऊ त भूत बनिसकेको रहेछ।
तपाईंलाई थाहा छ नि आमा!
भूतदेखि मलाई अति डर लाग्थ्यो
उसको जिब्रो कुकुरको जस्तो लामो र र्याल चुहाउँदै थियो
आँखा राताराता
भोको साँढेका जस्ता थिए।
तपाईंले मलाई भूतको कथामा सुनाएको जस्तो
उसका हात लामा न लामा थिए
म जता भाग्दा पनि
जति दौडँदा पनि समाइहाल्ने।
म रोएँ
बाबालाई भनिदिन्छु भनेँ
मेरी आमाले तँलाई मार्नुहुन्छ भन्दै डर देखाएँ
ऊ मान्छे थिएन
भूतलाई डर देखाउनुहुँदैन रहेछ क्यार
झनझन मलाई चिथोर्यो
गिजोल्यो
मैले थुक्दै थिएँ उसको अनुहारमा
मेरो जिब्रो चल्नै नसक्ने बनाइदियो
आमा!
मैले तपाईंलाई भित्र मनबाट बोलाउँदै थिएँ
आमा!
आमा!!
आमा!!!
कति बेला म सदाका लागि निदाएँ
कतिबेला ऊ अघायो
मलाई केही थाहा छैन।
आमा!
म महाशून्यताको
अनन्त यात्रामा हिँडेँ
फेरि पनि डराएकी छु
ऊ मान्छे स्वरूपमा वस्ती पस्यो कि!
भूत बनेर त्यही कोठामा बसिरहेको छ!
आमा!
देख्दा मेरा बाबा जस्तै देखिन्छ
झट्ट हेर्दा मान्छे जस्तै देखिन्छ
त्यो भूत हो भूत!
आमा बहिनी जोगाउनू है!