~सुन्दर कुरूप~
तिमी टाढा भएदेखि नै
प्रिय!
मैले पनि छाडिदिएको छु
गिटार बजाउन
जसलाई
कोठाको एक कुनामा
तिमीले पठाएका प्रेमपत्रहरू
च्यापिएका छरपस्ट किताबहरूसँगै
थन्क्याइदिएको छु।
लाग्छ,
म एउटा निकै क्रूर
असफल प्रेमी हुँ
कि तिम्रो अभावमा
निकै ठूलो यातना
दिइरहेछु उसलाई।
त्यो पैयुँको रूखमुनि
जब साँझ सुन्दर आख्यान
लेख्न सुरु गर्थ्यो
तिमी आउँथ्यौ
र मैले खेलेका ‘प्लकिङ् बिट’हरूमा
घण्टौँ प्रेमिल तरङ्गहरू गुनगुनाइरहन्थ्यौ।
तिम्रो केशको रेशमी स्पर्शमा
बतास गुँड बनाएर
निकैबेर
सुस्ताइरहन्थ्यो
केही क्षण बग्न भुल्थे
खोलाहरूले पनि।
मेरा औँलाहरूको
भर्याङ चढेर
जान्थ्यौ
माथिमाथि आकाशतिर
खेल्थ्यौ बादलका टुक्राहरूसँग
अनि सिउरिदिन्थ्यौ आफ्नो शिरफूल
अर्धचन्द्रमाको शिरमाथि
तब क्षणभरमै
सग्लो हुन्थ्यो चन्द्रमा
र
रातका कामुक हत्केलाहरूमा
एकाएक निर्माण हुन्थ्यो
जुनेली रातको गुलाबी तलाउ
जहाँ अबेरसम्म नुहाइरहन्थे
मेरा लेटेस्ट गीतका भर्जिन रिदमहरू।
तर यतिखेर
न कुनै गीत/सङ्गीत छ मसँग
न तिमीलाई छुँदै नाच्ने चञ्चल बतासहरू छन्
न त सग्लो चन्द्रमा नै छ
बस्
साँझको पुरानो रुमालले
पुछिरहेछु
सम्झनाका उदास आँसुहरू।
कोठाको पर एक कुनामा
निकै शोकमग्न
झोक्राइरहेछ
मेरो प्रिय साथी
मेरो गिटार।
प्रिय!
अब कसरी बाँचौँ म
तिम्रा सम्झनाका
बाँकी उमेरहरू?