~सन्तोष शर्मा~
मेरी प्यारी,
जति जति हेर्छु तिम्रो तस्बिर उति उति राम्री देखिन्छौ, हरेक क्षण हरेक पल, हरेक दिन । हरेक ढुकढुकीमा अनि मन मस्तिकमा तिमी नै, तिमी छौ । म आफैलाई थाहा छैन प्यारी, किन मलाई तिमी यति धेरै मन पर्छ । बोल्न मन भएर आउँछ तर बोल्दैन तस्बिर चुपचाप छ । थाहा छ ।
जसै तिमी एक फरक परिवेशबाट मेरो मायाको विश्वास को भरमा आफ्नू जन्म घरलाई त्यागेर मेरो गृहमा प्रवेश गर्यौ, मेरो त कुनै खुसीको सीमा नै थिएन । तर नौलो परिवेशमा तिम्रो मौनताभित्र कैयौँ प्रश्नहरू थिए होलान्, मैले कतिको तिम्रो मौनता भित्र उठेका प्रश्न हरूको उत्तर दिएँ, त्यो त थाहा छैन । तर पनि प्यारी मैले जाने, सम्झे र बुझे जति कुनै कसुर बाँकी राखेको जस्तो लाग्दैन ।
बेलुका जब खाना खाने बेलामा तिम्रो साथ बिना नै खाना खान बस्दा ज्यादै नरमाइलो अनुभूति हुन्थ्यो । सँगै बसेर खान धेरै मन भएर आउँथ्यो । उसो त संयुक्त परिवारको परिवेश नबुझेको त होइन तर पनि यदाकदा मनले भने परिवेशको हेक्का उति नगर्दो रहेछ ।
सबैले खाना खाइसकेपछी तिमी खान्थ्यौ, भन्छामा लोटाइ सके पछि बाहिर रक्षानमा भाँडा माझ्थ्यौ । एक्लै ।
तिमीले भाँडा माझ्दा बजेको छिन छिन चुराको आवाजले मन साह्रै कुटिल हुन्थ्यो, आएर म पनि सँगै भाँडा माझु माझु लाग्थ्यो । भाँडा पखाल्न पानी सम्म भए पनि हालिदिउ जस्तो लगिरहन्थ्यो । तर पनि म बाध्य थिएँ कि तिमी धन्दा सकेर मेरो पास नाउन्जेल सम्म तिम्रो प्रतिक्ष्या गरी बस्न ।
म टौवामा पराल थुत्दै थिएँ, तिमी पछिल्तिर बाट अँगालो भरी दाउरा बोकेर भन्छा तिर लम्किँदै थियौ, कुन्नि के पो भनेर जिस्काएकी थिएँ तिमीलाई ठ्याक्कै याद भएन तर तिमीले झिनो बाँसको दाउराले मेरो पिडौलामा सँठ्याएकि थियौ । ऐया नि मरे भन्दै म थुचुक्कै बसेको थिएँ । बल्ल खायौ र ठिक्क पर्यो को भाषामा ओठ र कुमले खुच्चिङ लगाउँदै भान्छा तिर लम्केकी थियौ तिमी ।
गोरु फुकाइ ओरी जसै म काँधमा हलो,जुवा र हातमा लौरो लिएर निस्कँदै थिएँ, हातमा थैली भरी मकैको पोको झुण्डाउदै पछि लागेकी थियौ तिमी । मुखमा मोला लगाउँदा पनि सागको बुटो येकैचोटि निमोठु झैँ गरी मुख धस्दै थियो खैरे गोरु, मैले हकार्दै एक लौरी बर्साएँ फिलामा । गोरु आफ्नू बाटो लाग्यो लुरु लुरु । तिमी भने अनौठो पराले हेरी रह्यौ तर केही बोलिनौ ।
जसै बारीमा पुगेर गोरु नारी वोरी म अघि अघि गोरु हकार्दै अनि तिमी भने पछि पछि मकैको बिउ झार्दै थियौ । लग्थ्यो अमेरिकाले इराकमा लडाकु विमान बाट बमको गोला बर्षाये जस्तै । छिटो छिटो । मेरो जोताइमा जस्तो गति उस्तै तिम्रो गति । हाएल कायल थियौ हामी । आ-आफ्नू धुनमा । एउटा अनौठो किसिमको रमाइलो पारीबेश थियो त्यो। रमाइलो एस मानेमाकी हामी आफ्नै गति मा भाग दौडमा थियौँ र अनौठो के थियो भने हामी निस्पस्ट मौन थियौँ ।
ह ह काले र ह ह खैरे ह पच गर्दै बेला मौकामा गोरुको पिठ्युँ र फिलामा लाठी बर्षाउदै म जोतिरहँदा, मेरो मन भने चुपचाप पछि पछि मकै छर्दै दौडी रहेकी तिमीमा थियो ।
कसम त धेरै मैले खाएँ । खुवाएँ । कि हामी कदापि छुट्टीदैनौ । एक अर्काको नजरबाट अलग हुँदैनौ । दुई चार दिन तिमी तिजमा माइत जाँदा पनि हामी एकअर्कालाई कति धेरै एक्लो महसुस गर्थ्यौ । तिमी भन्थ्यौ, बाबा अर्को सालबाट त म मरिकाटे माइत जाँदिन, मेरै बाबा को काखमा बसिराख्छु नि ल ? लाडिएकी थियौ तिमी । अनि म पुलकित ।
तिम्रो त्यो विशाल छाती बाट आउने मिठो गन्ध, तिमी घाँसको भारी बिसाएर खुइये सुस्केरा काट्दै बस्दा, पसिनै पसिनाले निथ्रुक्कै हुँदाको तिम्रो शरीर बाट आउने त्यो मिठो सुगन्ध अझै पनि म महसुस गर्न सक्छु प्यारी । यस्तै तिमी सँगको अनगिन्ती यादहरू मानसपटलमा अाइरहन्छन समुन्द्रको छाल जस्तै गरी । जो यहाँ मेरो सास फेर्नुको कारण बनेको छ ।
र त म यो सात समुन्द्र पारिको पर्देसी भूमिमा जस्तो सुकै अपमान जनक,कठिन र जटिल पारीबेशमा पनि रोमाञ्चित अनि पुलकित हुन्छु ।
आमाले आँसु झार्दै रातो अक्षता निधारमा लगाइ, आशीर्वाद सँगै बिदाइ गरी रहँदा, म बिदाइको हात हल्लाउँदै निस्किदा, पर कोठाको झ्याल बाट चिहाइ रहेकी मुर्छित तिमीलाई नदेखेको मैले पनि होइन प्यारी । बस तिम्रो समीपमा आएर बिदाइ माग्ने सामर्थ्य म सँग भएन प्यारी । तेती बेलाको तिम्रो हबिगत मैले महसुस नगरेको होइन प्यारी, म पनि त छेतबिछेत नै थिए नि ।
प्यारी, मेरो हरेक रात यसै गरी तिमीलाई सम्झेर नै बित्छ । कहिले कहीँ बिछौनामा छट्पटाइ रहन्छु । अस्ति रती मात्र खाटबाट भैं मा बाजारियेछु, धेरै रोमान्चित भएछु क्यारे, दाइने नाडीमा ठोकिएको थियो । अहिले लेखिरहँदा पनि दुखिरहेछ । तर पनि दुखाइ आफै मा मिठो लागिरहेछ । अझै अरू पनि लेखु लागि रहेछ ।
कहिले कहीँ कामको बेस्ततामा पनि अनायासै मुस्काइ रहेको हुँदो हुँ, साथी हरूले खुब जिस्काउछन । तर कहिले कहीँ भने मेनेजरको तिखो बचन बार्ण पनि भेटिन्छ । सुरुमा त धेरै दुखेँ तर आजकल त बानी परिसक्यो ।
यो पर्देश्को दु:ख कष्ट अनि भोगाइ देख्दा भेट्ने आशा नि मरी जान्छ । तिम्रो याद, सम्झना र तिमी सँगको विगतको पल अनि बाबा आमा भाइ बहिनी सबैलाई सम्झिदा त झन् आँसु छचल्किन्छन । ऐठन हुन्छ । सताउँछ । यति धेरै सताउँछ, दुख्छ, घोच्छ, अत्याउछ, पोल्छ भतभती । के गरूँ र कसो गरूँ बनाउँछ । उकुसमुकुस उकुसमुकुस हुन्छु । निसासिन्छु शायद हावाले पनि सास फेर्न बिर्सिए जस्तो लाग्छ।
आफ्नै देश विकास भएर, सबै पर्देसिएकाहरु स्वदेश फिर्ने दिन पनि उही काफल पाक्यो चराको कथा जस्तै लाग्छ ।
दिन के सक्छु र परदेशबाट, केवल मिठो सपना अनि आस तिमीलाई,
बिहान बेलुकीको मिठो मसिनो गाँस अनि बास तिमीलाई,
मेरो हरेक पल चल्ने सास अनि धड्कन सँगै
सदैव तिम्रो साथमा छु भन्ने आभास तिमीलाई ।
लेख्दा लेख्दै रात छिप्पिई सकेछ पत्तै भएन प्यारी । आजलाई एतिनै । जान्छु निदाउने प्रयत्न गर्छु । थाहा छैन प्यारी कसरी बित्छ अनिदो रात ।
गुड् नाइट प्यारी ,
उही तिम्रो प्यारा ।
– सन्तोष शर्मा
गोर्खा, हाल जापान
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )