कविता : मिगुर बाजे

~दिल थापा~

मिगुर बाजेलाई आफ्नो रङ्ग मेटी
जङ्गबहादुरहरूले जबरजस्ती लगाई दिएको
रङ्गलाई आफ्नो पहिचान सम्झन्छ ।
त्यसैले त आफूलाई मिगुर सम्झन्छ ।
आजभोलि त
जङ्गबहादुरहरूको मिखुर नै सम्झन्छ ।
मिजार्नी हाँगाको ऊ त्यसै राजा
कान्छी हाँगालाई आफ्नो भन्दा
सानो हैसियत भएको सम्झन्छ ।
त्यसैले त आफूलाई
त्यो उत्सवको समयभरि जङ्गबहादुर सम्झन्छ ।
मिगुर बाजे आजभोलि तपाईँको त्यो मिठो स्वर सम्झिन्छु
अनि तपाईँले पहाडी कालो च्वाँचेको मासुको चोक्टा र कोदोबाट बनाएको
अमृत जल खादै पिउँदै गाउनु भएको
गीतको एउटा टुक्रा सम्झन्छु ।
किन आयो रे वासुदेव हाम्रो आँगनमा किन आयो रे ?
साँच्चै मिगुर बाजे तपाईँले महिमा गाउने भगवानहरु
सुंगुरबुँगुर पाल्ने र खाने हाम्रो घरहरूमा आउँछ र ?

मैले यो कविता
हो कि अकविता
लेखीरहदा तपाईँलाई नै सोध्न चाहन्छु ।
हाम्रो आँगनमा वासुदेव भनिने भगवान् किन आएका होलान् ?
जिन्दगीभर डाँडाकाँडाको रुखको फेदहरूमा
दर्शन ढुङ्गाहरूलाई आफ्नो भगवान् सम्झँदै
पुजा गर्ने मिगुर बाजे वासुदेव तपाईँको भगवान् हो र ?
मिगुर बाजे तपाईँको घरमा
मैले कहिल्यै शिव , कृष्णा भनिने भगवान्को फोटो देखिन
तपाईँ मन्दिर ,मस्जिद चर्च जानुभएको पनि देखिन
तर तपाईँको त्यो उत्सवभरि खुब चर्चा हुन्छ ।
तपाईँको स्वरको
तपाईँको गलाको
अनि हामीले यता कता
हाम्रो मौलिक संस्कृति भनिने सोरठी कृष्ण चरित्र र घाटु नाचको
अनि मारुनीसँग रामलिला गर्ने बिजिबारेको पनि

मिगुर बाजे तपाईँले गाईरहदा
बिजाबारे दाइ तपाईँ नाचिरहँदा
मलाई साँच्चै तपाईँको पुर्खाहरूको महिमा गाउनु भन्न मन छ ।
तपाईँको पहिचान को रङ्ग आउने भाका गाउन भन्न मन छ।

दिल थापा मगर
दमौली तनहुँ
हाल जापान

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.