~इन्द्रकान्त शर्मा~
अर्कैको मौजामा साँढे चराउने चक्रवर्तीले
रातीमा मस्तसँग निद्रा परोस् भनेर
आफनै खोरियामा दिनभरि खर काट्न लागेँ’थे
कोशी र गण्डकी बेच्ने मात्र होइनन्
महाकालीमा धमिलिएकाहरू पनि
गाउँघरमा देखिन छाडेँ’थे
किनमेलका लागि बजारतिर यसो जाँदा
प्रहरी चौकी समेत
मालपोत कार्यालयहरू बम गोला र वारूदले
जिङग्रिङ्ग परेका देखिन्थे
सिंहदरबारको हृष्टपुष्ट सग्लो प्रजातन्त्र पनि
गाउँटोलसम्म आइपुग्दा
लुलो लठेप्रो देखिन्थ्यो
सर्वसाधारणलाई कोप्चेरामा पार्ने
अनन्तेले पनि
गरिबीले थिलोथिलो परेको
गुञ्जेलाई समेत
“आरामै छस् गुञ्जे ?” भन्दै
चासो देखाउन थालेँ’थे
गरिबका लागि पनि
नून भुटुन र भोटोका कुरा गर्न थालेँ’थे
तर कठै !
१० वर्षे “जनयुद्ध” कालका तन्नेरीहरूले
“क्रान्ति”लाई भीरबाट गुल्टाएर
अहिले मुढिएको शक्ति निमार्णमा पो लागेछन्
“काँचै कचिलाहरू !”
(फलेवास देविस्थान ८, भुसालचौर, पर्वत)
(स्रोत : हाँक विक्ली – वर्ष ३३, अङ्क ६ – Dec., 30, 2015 – २०७२ पौष १५ गते, बुधबार)