~पुरुषोत्तम दाहाल~
जुट्नेहरूलाई फोड
फुट्नेहरूलाई जोड
जुट्नुपर्नेहरू फुट्छन्
फुटाउन खोज्नेहरू जुट्छन्
बाबु–बाजेको चितामा आगो ताप्नेहरू
घर जलाएर खरानीको थुप्रोमा रमाउनेहरू
माटो बेचेर भोक मेट्नेहरू
सीमा भत्काएर स्वाधीनता खोज्नेहरू
सकेसम्म जुट, सकेसम्म मिल
जमिन टेकेर घर बनाउन खोज्नेहरू
पुर्खाको गौरव गाएर नथाक्नेहरू
स्वतन्त्रता र स्वाधीनताको सगरमाथा जोगाउनेहरू
काँध थापेर सीमा जोगाउन खोज्नेहरू
फुट, सकेसम्म फुट
टुक्रा–टुक्रा फुट
आज– परमाणु फुट
परिवर्तनको अर्थ यही हो भने
प्रगतिको परिभाषा यही हो भने
वर्तमानको माग यही हो भने
र भविष्यको बाटो यही हो भने
फुटाउन खोज्नेहरू जुट
जुट्नुपर्नेहरू फुट
द्द इ कविता
“देश नभएर के भो ?
प्रदेश भए पर्याप्त छ
साथ नभएर के भो
जात भए लाख छ ।”
‘रूप’ जस्तो भए पनि हुन्छ
संस्कृति हराएर के भो ?
सभ्यताको शिखर छँदै छ
सीमा हराएर के भो ?
सत्ता–सिँढी तयार छ
म नागरिक–अनागरिक भएर के भो !
मसँग बस्ने बास छँदै छ
म मेरो हुनुको अर्थ के छ ?
पर–सेवाको बाटो खुलै छ
जसरी पनि म हुनेछ
म माथि जो–जसरी भए पनि
तर होइन है
जुट्नेहरू नसुन मलाई
र फुट्नुपर्नेहरू नबुझ मलाई
म नागरिक हुँ
अनागरिक बन्न नलगाऊ मलाई ।
(स्रोत : नेपाल प्रज्ञा–प्रतिष्ठानको कविताप्रधान चौमासिक पत्रिका – “कविता” पूर्णाङ्क : ९८, असोज–पुस, २०७० बाट सभार )