~तिर्थराज अधिकारी~
छन्द : उपजाति
जरा धरा जे जति टेक्न पाएँ
आधार मानी तन यो सजाएँ
अठोट अग्लो शिरमा उठाई
जित्नै छ बाधासितको लडाइँ ।१।
हुरी चली पल्लव वस्त्र तानोस्
आकाश गर्जी जति वज्र हानोस्
कडा- कडा शीत र ताप आओस्
दाह्रा धसी वल्कल नै उतारोस् !२।
मुना- मुना फूल र पात झाँकी
बहार झन् सुन्दर याम बोकी
नचाउँदै भृंग- पतंगलाई
हेरौँ म मौरी रसको घुमाइ ।३।
टिपेर मेरा फल क्वै अघाऊन्
चुसेर मेरा रस क्वै रसाऊन्
कतै कसैमा प्रतिवाद छैन
यो मौन मेरो व्रत रोकिँदैन ।४।
झरी परे झम्झम ओत दिन्छु
आऊन् कुनै क्लान्त म काख लिन्छु
छैनन् कतै रात र प्रात भिन्न
सत्कर्मको कर्म कतै नुहुन्न ।५।
म बोटको जीवन नै उदार
सहन्छु बाधा जति हुन् प्रहार
म रित्तिँदै भर्छु असंख्यलाई
चोखो छ मेरो करको कमाइ ।६।
गर्दै गरूँ अर्पण , नित्य दान
चुमेर माटो रसको महान
जन्मी बढी यै थलमा समाधि
लिँदै म जाऊँ पर मेघमाथि ।७।
(स्रोत : “सत्ताका किनाराहरू” – कवितासंग्रह – २०७० बाट साभार )