कविता : मन्दिर र घण्टाहरु

~मनु वि.क.~

मन्दिर तीमी त ठडिएका छौ
वर्षौैं वर्षदेखि
सजिएका छौ
ध्वजा पतका र घण्टाहरुले
पोतीएका छौ रङ र शृङ्गारहरुले
तिम्रै पाखामा पोखिएका छन् अबिरहरु
झुण्डिएका छन्, नयाँ पुराना बस्त्रहरु
गुञ्जित छौ छिनछिनै घण्टाका ध्वनिहरुले
मन्त्र मुग्ध छौ अनेक मन्त्रण र भजनहरुले
सुगन्धित छौ विभिन्न धुप र तेलहरुले
प्रज्वलित छौ दियो र कलशहरुले
तिमीभित्र विराजमान
निर्जीव मूर्तिहरु सुती रहेका छन् आरामसँग ?
कुन्नि किन हो ?
तिनै त पुजिन्छन् यहाँ धुमधामसँग
अर्पिन्छन् फूलहरु
पुरिन्छन् धन र पैसाहरुले
अगम छन् ? अनेक
फलफूल र मिष्ठान्नहरुले
रात र दिनहरुमा
बिहान र साँझहरुमा
आरतीमा जगमगाउने
जाज्वल्यमा उपस्थित छ
एउटा मगन्तेको छायाँ
धुपका मगमगाउने बास्नाहरुमा
ठुस्स गन्हाउँछ उसको पसिना
हैन, हैन लहरै छ
एक दुई कति कति ?
बसी रहेछन् मानव कङ्कालहरु
आछ्यु र ऐया गर्दै
छटपटाएका जीवनसँगै
भुकी रहेछन् भुस्याहा कुकुरहरु
घरीघरी उता जा भन्दा
बजी रहेछन् मन्दिरका घण्टाहरु

गुन्जित छन् मन्त्रणा र भजनहरु
देऊ मलाई त देऊ
एउटा फल त चढाऊ भन्ने माग
जीवनको भिकको आवाज
हराउँछ, घण्टाको टङ्ङ आवाजसँगै
लत्रन्छन् मानवरूपी हातहरु
सहन्छन् निर्घात् लातहरु
बज्छन् पुनः एकोहोरो घण्टाहरु ।

(स्रोत : हाँक विक्ली – वर्ष ३३, अंक ३० – June 22, 2016 – २०७३ आषाढ ८ गते, बुधबार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.