~विष्णु विभु घिमिरे~
सम्झना मैनबत्तीजस्तो
मन सम्झनामा बल्दाबल्दै सकिए हुन्थ्यो
उफ ! यसरी बारम्बार नआए हुन्थ्यो
यसरी घरिघरि नतड्पाए हुन्थ्यो ।
सम्झना चुहिने गाग्रीजस्तो
मन बाटोमै तप्पतप्प चुहिएर
रित्तो मन घर पुग्न पाए हुन्थ्यो
यसरी घरिघरि झस्काउने झझल्को नआए हुन्थ्यो ।
बारम्बार झड्का लाग्छ
त्यसबेला धेरै आफैँप्रति खेद जाग्छ
किन भेट भयो बित्थामा
सम्झना छारे रोगजस्तो
मन सम्झनामा मुर्छा परेर ब्यूँतिए हुन्थ्यो
यसरी पलपल मेरो समयलाई नसताए हुन्थ्यो ।
मेरो आँखामा तिम्राे अनुहार
जब छातीमा ठोकिन्छ बारम्बार
मन एम्बुसमा परेको सुरक्ष्ााजस्तो
खुब छटपटाउँछ
भित्रभित्रै चुँडिन्छ, टुक्रिन्छ र छरपष्ट हुन्छ ।
रात निदाए पो !
दिन चङ्गा भए पो !
हिँड्यो-हिँड्यो
कतै पुगिँदैन
बस्यो-बस्यो
कतै बसिँदैन
उफ ! यसरी बाँचेर
कतै बाँचिएन ।
सम्झना श्रापजस्तो
मन सम्झनामा एकएक भीष्मकष्ट भोगेर
एउटा निश्चित समयपछि त
मुक्ति पाए पनि हुन्थ्यो
सम्झना यसरी
कहिल्यै निको नहुने घाउ भएर नचहर्याए हुन्थ्यो।