~भुवन निस्तेज~
पुरानो घर त जर्जर छ,
सजेको संगमर्मर छ ।
फगत यो एक अन्तर छ,
उता पीपल यता वर छ ।
झरेको साउने झर छ,
बगरको छेउमैं घर छ ।
गगनमा छन परेवा पो,
अहो यो स्वप्न बर्बर छ ।
भलो तिम्रो म चाहन्थें,
सतीको श्रापको डर छ ।
शिखण्डी छोप लौ मौका,
गलेको यो धनुर्धर छ ।
मलाई बिक्न मन लाग्यो,
यहाँ के भाउ के दर छ ।
नरिवल भो नल्याऊ ए!
यहाँ बाँदर छ बाँदर छ ।
पछाडिबाट झम्टिन्छ,
ऊ कस्तो हेर कायर छ ।
कुरामै अल्झिए गैगो,
हिंडे बाटो सरासर छ ।
‘भुवन’ले तर्न सिक्नु छ,
अगाडि क्षीर सागर छ ।
निस्तेज धनगढ़ी,कैलाली
(स्रोत : साहित्य सभा)