कविता : निलो वामपन्थ

~जुम्रीकाँडे शेशी~

उरोज प्रदर्शन गर्दै
नितम्ब मर्काउँदै
पश्चिमतिरबाट
एउटी नृत्याङगना आइरहेकी छिन्
डलरको मोहनी मन्त्र पढेकी
“टु पिस” को छोटोमिठो बस्त्र पहिरेकी
ए नेपालका राता मनुवा हो
तिनको नृत्यलाई चियाएर नहेर
नीलो बामपन्थ भनेको त्यही हो

ती पश्चिमा गोरी नृत्यङगना उँभिदा
सौन्दर्यको प्रतिमा जस्ती देखिन्छिन्
जब उनी यताउता हिंड्न थाल्छिन्
गरिमाकी प्रतिमा जस्ती देखिन्छिन्
कम्युनिस्ट “हुण्डरी” भित्रको तिनको नृत्य
मनोहर दुनियाँको कहानी जस्तो देखिन्छ

डलरको थैलो बोकेको नृत्यङगनाको मन्त्रले
हिमाल र कर्णाली भोको भयो भन्छ
पहाड बञ्जर र रुखो भयो भन्छ
तराई होचो र अर्घेलो भयो भन्छ
उपत्यका स्वार्थी र एकोहोरो भयो भन्छ
नृत्यसँगै मजाको अभिनय पनि गर्छ
तर पनि
नेपालका राता मनुवा हो
तिनको नृत्यलाई चियाएर नहेर
नीलो बामपन्थ भनेको त्यही हो

ती पश्चिमकी सौन्दर्यको प्रतिभा भन्छिन्
दलितले अधिकार पाएन
जनजातिले मौजा पाएन
पहाडेले नमिठो खाएन
तराईले देशै पाएन
कम्युनिस्टले गरिखाएन
ती पश्चिमा सुन्दरीको मन्त्र
डलर सहितको मोहनी अस्त्र
शुरुमा ठीकै सुनिन्छ
त्यसैले
अफ्रिका र एसिया लठ्ठिन्छ
जब मन्त्रको कथावस्तु बुझिन्छ
मुटुमा ग्लानीको पहिरो जान्छ
पश्चिमा सुन्दरीको मनमोहक नृत्य
आज अफ्रिकामा ताण्डव नृत्यमा फेरिएको छ
कङ्गो खग्रास भएर उभिएको छ
सुडान खण्डग्रास भएको छ
नाइजेरिया भोकै र नाङ्गै छ
इथोपिया हरिकङ्गाल भएको छ
रुवाण्डामा कङकाल थुप्रिएको छ
एकपटक सुन्दरीको नृत्य र डलरले
अघाएको अफ्रिका
आज
राक्षसहरूलाई अस्मिता लुटाउन विवश छ
त्यतातिर हेर नेपालका राता मनुवा हो
नीलो वामपन्थको खेल मैदान कस्तो छ

एकछिन उद्धम मच्चाउन कै लागि
पसिनाको वर्गमूल्य छोडेर
पहिचानको कुम्लो बोकेर हिंड्दा
तिम्रो रक्त रंजितले इतिहास थला परेको छ
मिठा मिठा चाराहरू बाँडेर हिंड्ने
पश्चिमा सुन्दरीको जालमा पर्दा
तिमी वस्तु हुँदैछौँ कमरेड
बजारको एक हिस्सा हुँदैछौ
त्यसैले
पश्चिमा सुन्दरीको नृत्य नहेर
नीलो बामपन्थ भनेको त्यही हो

ए राता मनुवा
तिम्रो माक्र्सवादी सौन्दर्य
र वर्गसङ्घर्षको मानक
कति ठाउँमा कुप्रिएर
अष्टबक्र जस्तो भएको छ
प्रयोगशालामा पसेर ऐना हेर
बजार तानाशाहले तिमीलाई
कस्तो चेहराको रातो मनुवा बनाएको छ
त्यसैले
जातीय पहिचानको मन्त्र बोकेको
उत्तर आधुनिक नश्लवादी नृत्य हेर
त्यो क्रर निलो वामन्थ हो

फर्केर भोको वर्ग र
अँध्यारो बस्ती हेर
त्यसैमा मात्र क्रान्ति र मुक्तिको
असिम सौन्दर्य छ ।

(प्रगतिशील लेखक सङ्घ केन्द्रीय समितिद्वारा धनगढीमा आयोजित कार्यक्रममा वाचित गरिएको कविता )

(स्रोत : हाँक विक्ली – वर्ष ३१, अङ्क ४२ – Sep. 17, 2014 – २०७१ असोज १ गते, बुधबार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.