~पदमबहादुर थापा~
एकसाथ सवैको खुशी र उमंग लिएर
एक जुगमा एक पटक मात्र
आउँछ भन्थे तिमीलाई
दशक नबित्दै तिमी फेरि आयौ .
एक पटक आएर
जुगमै नआउने “ जीवन र मृत्यु” जस्तो
तिम्रो बिशेषता देखेर
म अति दंग थिएँ
तर तिमीलाई यति छिट्टै फेरि आएको देखेर
म झसँग भएको छु
तिमी फेरि किन आयौ ?
वा आउन किन बाध्य पारियो ?
देश चलाउनेहरूको यो लाचारीपन देखेर
सारा दुनियाँ लज्जित छ .
बाध्यतारूपी अजंगको पहाडले थिचिएर
नचाहदा नचाहदै पनि
तिमी फेरि आएका छौ
दोहोरिएको तिम्रो यो आगमनले
तिम्रो वारेमा बखान गर्नेहरूको
बौद्धिक दरिद्रता देखेर मलाई
अनौठो हाँसो उठिरहेछ
मान्छे किन यति झुठो बोल्छ ?
किन मान्छे अरूलाई मूर्ख ठान्छ ?
आखिर आवश्यकता प¥यो भने
तिमी फेरि पनि त आउँदा रहेछौ
तर तिमीलाई फेरि आउँदैन वा आउनु पर्दैन भनेर
ठुलो भ्रम छरियो
तिम्रो नामबाट केवल आफना स्वार्थ पुरा गर्न
हुँदा नहुँदा जाली कुरा गरियो
अघिल्लो चोटि तिमी आउँदा
तिम्रो शान र सत्वको वारेमा धेरै कुरा सुनियो
देशको मुल कानून जन्माउने तिमी
सवैको ममतामयी आमा हौ
जुगौ देखि पिल्सिएका, थिचिएका र हेपिएकाहरूको
अगाध ममताकी खानी हौ
के यी मैले सुनेका सवै कुरा साँचा हुन ?
जव तिमीबाट देशको मूल कानून
संविधानको जन्म हुन्छ
तव साराका सारा समस्या एकै चोटि हल हुन्छ
तर मलाई शंका थियो
तिमी फेरि आउनु पर्दैन भन्नेमा
साराका सारा समस्या जादुको भरमा
हल हुन्छ भन्नेमा
किनकि तिमी जव संविधानको गर्भ बोकेर आयौ
तिम्रो आगमन सँगै तिम्रो गर्भ तुहाउन
अनेकौ खेलहरू खेलिए
बिसंगतिका पहाड चुलिएका बेला
तिमी फेरि आएका छौ
अझै पनि मलाई शंका छ तिमीले
बर्षौ देखि पिल्सिएका हामी जस्ताको
हाँसो, खुशी र सुःखको ग्यारेण्टी गर्न सक्छौ भनेर
तर पनि आऊ .
तिमीलाई भव्य स्वागत छ
आऊ .. तिमी आऊ ..
तिम्रो अवसानमा रमाउनेहरू सँग
होशियारी वनेर आऊ
अब फेरि नआउने गरी आऊ
युगौ देखिको नेपाली समाजको सारा समस्या
सुल्झाउने गरी आऊ !!
– बागलुङ
(स्रोत : हाँक विक्ली – वर्ष ३०, अंक २१ – April 10, 2013 – २०६९ चैत्र २८ गते, बुधबार)